किन बनेन सिटी बसपार्क ?

Posted on: 13 May, 2018

वैशाख ३०, सुर्खेत | देश संघीय संरचनामा रुपान्तरण भइसकेको छ । समृद्ध मुलुक बनाउने अठोट निर्वाचित सांसद्हरुले गरिसकेका छन् । प्रदेश नम्बर ६ को नाम कर्णाली र राजधानी वीरेन्द्रनगर कायम समेत गरिसकिएको छ । प्रदेश राजधानीमै वर्षौदेखी भरपर्दो बसपार्क छैन भन्दा आश्चर्य लाग्न सक्छ  । तर सुर्खेतमा बसपार्क निर्माणको प्रक्रिया दुई दशक वित्दा पनि काम चलाउ बसपार्कमै सीमित छ ।

०५४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित नेतृत्वको कार्यकालपछि सिटी बसपार्कको चर्चा शुरू भएको हो । तत्कालीन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख बालाराम शर्माले सिटी बसपार्क निर्माणका लागि पहल थालेका थिए । नगर विकास समितिले गत वर्षदेखी वीरेन्द्रनगर नगरपालिकालाई निर्माणको निर्देशनअनुसार काम अघि बढाएको थियो ।भ्याटबाहेक ६ करोड ८३ लाखमा उक्त कम्पनीसँग ठेक्का सम्झौता भएपछि सिटी बसपार्क निर्माण शुरू गरिएको हो । तर वीरेन्द्रनगरको मंगलगढी चौक नजिकै निर्माणाधिन बसपार्क वर्षौ वित्दा पनि पूर्णता पाउन सकेको छैन् । नाकाबन्दी, निर्माण सामग्रीको अभाव र मौसमको समस्या देखाउँदै बसपार्कनिर्माण जिम्मा पाएको व्यवसायीले समयावधि लम्वाइरहेको छ ।

समयमै वसपार्क निर्माण नहुँदा मंगलगढीस्थित अस्थायी बसपार्कमा सवारी चाप बढ्दा दुर्घटनाको त्रास बढेको छ । लामो समयसम्म पनि बसपार्क निर्माणमा सरोकारवाला निकाय मौन हुनु दुखद् भएको यातायात व्यवसायीहरु बताउँछन् ।

तर बसपार्क निर्माणमा पनि नगरपालिकाले उदासिन देखाउँदा पूर्णता पाउन नसकेको स्थनीयको गुनासो छ । निर्माणाधिन बसपार्कमा वाल निर्माण र सटरको काम सम्पन्न भएपनि अन्य काम लथालिंग छ । बसपार्क निर्माणको जिम्मा चाङ्गमीला नरसिंह–जे.भी.ले लिएको थियो । नगरपालिकाले दशैं अगावै काम सम्पन्न गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याउने उद्घोष गरेपनि हालसम्म मैदान कालोपत्रे र फिनिसिङ्ग गरिएको छैन् ।कुल ६ करोड ८२ लाखमा ५५ लाख रकम थप गरिएको थियो । दुई वर्षको अघि र अहिले निर्माण सामग्रीको मुल्यमा फरक आएको भन्दै थप ३२ लाख रकम थप्न माग गरेरको थियो । विचमा निर्माण कम्पनी कामै नगरेर फरार भएको थियो । बसपार्क निर्माणमा हालसम्म करिव ४ करोड खर्चिएको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले असार मासन्तसम्म काम सम्पन्न गर्ने निर्माण कम्पनीसंग सहमति भएको जानकारी दिईन् । ‘नगर विकास कोषसंगै निर्माण कम्पनीलाई बोलाएर सहमति गरेका छौं’ ढकालले भनिन्,–‘हाल चाङ्गमिला नरसिंह जेभीले काम शुरु गरेको छ, यदि बिचैमा काम छाडे दिनगन्तीमा पनि हामी काम सम्पन्न गछौं ।’ काम सम्पन्न गर्नेगरी निर्माण व्यवसायीलाई ताकेता गरेको जानकारी दिए ।


केही प्राविधिक जटिलताका कारण निर्माणमा ढिलाइ भएको स्वीकार यसअघि नै नगरपालिकाले गरिसकेको थियो । बसपार्क निर्माणमा आफूहरु गम्भीर रहेको भन्दै निर्माण व्यवसायीलाई जसरी पनि काम सम्पन्न गर्न निर्देशन दिएको ढकाल बताउँछिन् । प्रदेश राजधानीमै बसपार्क नहुँदा गलत सन्देश प्रवाह भएको सांसद पद्मा खड्काले बताईन् । उनले तत्काल सिटी बसपार्क निर्माणलाई सम्पन्न गर्न समन्वय गरिरहेको समेत जानकारी दिइन् । ‘अहिलेकै बसपार्कले हामीलाई प्रयाप्त ठाउँ पुग्दैन्’ खड्काले भनिन्,–‘दिर्घकालिन रुपमा स्थायी बसपार्क बनाउन हामी पहल गरिरहेका छौं ।’

बसपार्कमा हालसम्म ५६ अस्थायी टहरा, गार्डेन निर्माण र वाल निर्माणको कार्य सम्पन्न गरिएको छ ।बसपार्क भित्र यात्रुहरुलाई बस्न छुट्टा छुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट रहनेछन् । निर्माणाधिन बसपार्कमा ९० साना ठुला बस अट्ने क्षमताको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!