कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन हुँदै

Posted on: 24 May, 2018

जेठ १०, सुर्खेत | कर्णाली प्रदेशसभाको बर्खे अधिवेशन शुक्रबार बाट सुरु हुँदैछ । गत माघ २१ गतेबाट सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन २६ घण्टा ४३ मिनेट चलेर बैशाख १८ गते अन्त्य गरिएको थियो । हिउँदे अधिवेशन सकिएको २३ दिनपछि शुक्रबार प्रदेश सभाको बर्खे अधिवेशन सुरु हुन लागेको हो । सरकारले संसदलाई बिजनेस् दिन नसकेको भन्दै प्रतिपक्षको चर्को आलोचनाकाबिच पहिलो अधिवेशन सकिए पनि बर्खे अधिवेशनका लागि भने प्रयाप्त बिजनेस हुने विश्वास गरिएको छ ।

कर्णाली प्रदेश सभाको बर्खे अधिवेशन अगावै विभिन्न सात वठा विधेयकहरु संसद सचिवालयमा दर्ता भई सकेका छन् ।सामाजिक संघसंस्था सञ्चालन तथा व्यवस्थापन विधेयक–२०७४, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी कानुन तर्जुमा गर्न बनेको विधेयक–२०७५, कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन–२०७५, कर्णाली प्रदेशको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियासम्बन्धी ऐन–२०७५ संसद्मा पेश हुने संसद सचिवालयले जानकारी दिएको छ ।

विहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपछि प्राथमिकतामा आधारमा चार विधेयक संसदमा पेश हुने सहमति भएको एमाले सचेतक गुलावजंङ्ग शाहले जानकारी दिए । उनका अनुसार पहिलो अधिवेशनकै क्रममा संसद्दर्ता भएकोकर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ पारित गर्ने कार्यसूची छ ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक–२०७५, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन–२०७५ पनि सचिवालयमा दर्ता भएका छन् । यी विधेयक संसदको अर्को बैठकमा पेश हुनेछन् । संसदको बैठक दिउँसो १ बजे बस्दैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!