सुर्खेत: वीरेन्द्रनगरको बजेट ९६ करोड

Posted on: 24 Jun, 2018

असार १०, सुर्खेत | वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ का लागि ९६ करोडको बजेट प्रस्तावित गरेको छ । आइतबार भएको वीरेन्द्रनगरको तेस्रो नगर सभामा नगरपालिकाले आगामी बर्षको निती कार्यक्रम सहितको आय व्ययमा सो प्रस्ताव गरिएको हो । नगर सभामा नगर उपप्रमुख मोहनमाया ढकालले ७ करोड ४० लाख ६० हजार आन्तरिक र ८६ करोड ३४ लाख २३ हजार गरी कुल ९३ करोड ७४ लाख ८३ हजार बजेट प्रस्तुत गरिन् ।

नगरपालिकाले वित्तीय समानीकरण अनुदानको २४ करोड ५१ लाख १७ हजार, संघीय सरकारको राजश्व बाँडफाँड मार्फत प्राप्त १५ करोड ३ लाख १८ हजार, सशर्त अनुदान ३१ करोड २५ लाख ७० हजार, प्रदेशको राजश्व बाँडफाँड १८ लाख ५१ हजार, प्रदेश सरकार अनुदान ७७ लाख ३९ हजार, सामाजिक बिशेष अनुदानको १४ करोड ४० लाख ११ हजार र अन्य अनुदान १८ लाख १७ हजार गरी ९३ करोड ७४ लाख ८३ हजार आम्दानी अनुमान गरिएको छ ।

नगरपालिकाले आगामी आर्थिक बर्षका लागि चालुतर्फ ६२ करोड २२ लाख ३९ हजार र पुजिगततर्फ ३४ करोड ४४ हजार गरी ९६ हजार २२ लाख ८३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।  


यस्ता छन् वीरेन्द्रनगरका प्राथमिकता

वीरेन्द्रनगरले नगरको भौतिक पूर्वाधार बिकासका लागि नगरका सबै सडकहरु तथा प्रत्येक घरधुरीको नम्बरिङ्ग गर्दै मेट्रिक ठेगाना प्रणाली लागू गर्ने, दुई बर्षभित्र मुख्य बजार सडकलाई व्यवस्थित र सुन्दर फुटपाथसहितको सडक बनाउने, नगर क्षेत्रको अव्यवस्थित बसोबास र सडक खोल्ने कार्यलाई निरुत्साहित गर्ने, वीरेन्द्रनगर बजार क्षेत्रको ढल निकास गुरुयोजना निर्माण कार्य थालनी गर्ने लगायतका कार्यक्रमहरु अघि सारेको छ ।

नगरपालिकाले कटकुवा हेल्थपोष्टलाई बालबालिका तथा महिला विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने, वडास्तरीय योजनामा २० करोड ८० लाख, नगर महत्वको योजना अन्तर्गत मुख्य बजार पूर्वाधार बिकास, महिला स्वरोजगार कार्यक्रम, नगरस्तरीय गुरुयोजना निर्माण तथा अध्ययन, घण्टाघर अगाडीको खुला मैदानमा पार्क, शहिद पार्क, बुलबुले पार्क निर्माण तथा सहकार्य गर्ने कार्यक्रम पनि नगरपालिकाको छ ।

यसैगरी, ल्याण्डफिल्ड साइट निर्माण, विपद व्यवस्थापन, शिक्षा प्रवद्र्धन नगर कृषी प्रवद्र्धन, नगर स्वास्थ्य प्रवद्र्धन, पशु सेवा प्रवद्र्धन, हरियाली प्रवद्र्धन र काँक्रेविहार चिडियाखाना पार्क निर्माण विकास सहकार्य, नगर सरसफाई प्रवद्र्धन, शहरी सौन्दर्य कार्यक्रम, फुटपाथ, छाडा पशु, ट्राफिक व्यवस्थापन, कला संस्कृती प्रवद्र्धन, सुशासन प्रवद्र्धन, खेलकुद प्रवद्र्धन,  र दाहसंस्कार स्थल निर्माण तथा व्यवस्थापन सहकार्य लगायतका क्रियाकलाप र बजेट विनियोजन गरिएको छ ।

लेकबेशीको बजेट साढे ३८ करोड

सुर्खेतको लेकबेशी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि कुल ३८ करोड ५९ लाख ७१ हजार विनियोजन गरेको छ । आइतबार भएको तेस्रो नगर सभामा नगर उपप्रमुख शान्ति कुमारी छन्तेलले आगामी बर्षको लागि अनुमानित आय व्यय सहितको बजेट प्रस्ताव गरिकी हुन् ।

नगरपालिकाले २२ करोड ७६ लाख ३७ हजार ५ सय चालु र १५ करोड ८३ लाख ३३ हजार ५ सय रुपैयाँ पुँजीगत खर्च गरी कुल ३८ करोड ५९ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले भौतिक पूर्वाधार, सडक, सिँचाइ, खानेपानी  स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा बजेट केन्द्रित गरेको जनाएको छ ।

गुर्भाकोटको बजेट ४६ करोड ७९ लाख

सुर्खेतको गुर्भाकोट नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै ४६ करोड ७९ लाख ८६ हजारको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले तीन वडा सडकलाई ‘गौरवका योजना’ का रूपमा छनोट गरेको छ । ‘भेरी किनार पर्यटकीय सडक, सडक सञ्जालले नछोएको साबिकको धारापानी गाविस र छिन्चु–घारीवन–कालिमाटी सडकलाई गौरवका योजना छनोट गरेका भन्दै नगरप्रमुख हस्त पुनले बजेटको प्राथमिकता यसैलाई दिएको जानकारी दिए ।

प्रतिपक्षीविहीन सरकार बनाउनु पर्नेमा जोड

तेस्रो नगर सभा उद्घाटन गर्दै नेकपाका नेता तथा पूर्व मन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको समग्र बिकासलाई वीरेन्द्रनगरले प्रभावित बनाउने भन्दै वीरेन्द्रनगर नमूना नगरका रुपमा बिकास गर्न सबै क्षेत्रको सहकार्य जरुरी भएको बताए । वीरेन्द्रनगर प्रदेशको राजधानी घोषणा भएसंगै यहाँको जिम्मेवारी न िबढेको भन्दै यहाँका हरेक क्षेत्रको बिकासका लागि प्रतिपक्षीविही सरकार चलाउनु जरुरी भएको बताए ।

नगरसभाले पारित गरेका निर्णयहरु कार्यान्वयनका लागि स्थानीय सरकारका तर्फबाट पहल गरिने नगरप्रमुख देवकुमार सुवेदीले बताए । कार्यक्रममा राजनीतिक दलका नेताहरुले कर्णालीको समग्रै बिकासका लागि सहकार्य जरुरी भएको बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!