सुर्खेतमा मौसमी राडार

Posted on: 16 Nov, 2018

कात्तिक ३०, सुर्खेत (रासस) | डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ । 

जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने ‘मौसमी राडार’ जडान गरेको हो । राडारबाट बाढी, पहिरो र डुबानजस्ता विपद्बारे सर्वसाधारणले पूर्व सूचना पाउनसक्ने भएका छन् । 

बाढीपहिरो, डुबानले पश्चिम क्षेत्रमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति पु¥याउने भएकाले पूर्व सतर्कताका लागि नमूनाका रुपमा उक्त स्थानमा राडार जडान गरिएकोे हो । रातानाङला समुद्री सतहबाट दुई हजार २४४ मिटर उचाईमा छ । मध्य तथा सुदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयका अनुसार राडारले दुई सय किमी दूरीसम्मको मौसम र त्यसले निम्त्याउन सक्ने जोखीमबारे पूर्वानुमान गर्नेछ । 

कार्यालय प्रमुख निराजन सापकोटाले पाँच नम्बर, कर्णाली र सुदुरपश्चिम प्रदेशका साथै छिमेकी मुलुक भारतका केही भूभागमा समेत राडारले सङ्केत गर्ने बताउनुभयो । “कहाँ, कति वर्षा भयो, कति हुँदैछ भन्ने सूचना प्राप्त हुन्छ । बाढीबाट सर्वसाधारणलाई जोगाउन मद्दत पुग्नेछ” उहाँले भन्नुभयो, “पानीको विश्लेषण गर्न सकिने हुँदा हवाई उड्डयनका लागि पनि मौसमी राडार उपयोगी मानिएको छ ।” 

विश्व बैंकको सहयोगमा रु २६ करोडको लागतमा राडार जडान गरिएको हो । मध्य क्षेत्रको पाल्पा र पूर्वको उदयपुरमा पनि यसप्रकारको राडार जडान गर्ने सरकारको तयारी छ । उक्त विभागले मातहतका निकायलाई प्रादेशिक संरचनामा लैजाने क्रममा सुर्खेतस्थित क्षेत्रीय कार्यालय कोहलपुर स्थानान्तरण गर्ने भएपछि राडार सञ्चालनमा समस्या देखिएको छ । राडार जडान भए पनि आवश्यक कर्मचारी नहुँदा अन्य प्रविधिक काम भने अधुरो छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!