सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा रावत विजयी, पदाधिकारीमा मिश्रित परिणाम

Posted on: 17 Dec, 2018

पुष २, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघकोअध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । सोमबार घोषणा गरिएको मतपरिणाम अनुसार रावतले प्रतिष्पर्धी प्रकाश उप्रेतीलाई १७ मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार ८ सय १० मत प्राप्त गर्दै रावत विजयी भएका छन् भने उनका प्रतिष्पर्धी प्रकाश उप्रेतीले ७ सय ९३ मत प्राप्त गरे ।

संघको नयाँ नेतृत्वका लागि मंसिर २९ गते मतदान भएको थियो । सर्वसम्मत संघको नेतृत्व चयन गर्ने प्रयास विफल भए पछि निर्वाचन रावत र उप्रेती प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । दुवै काँग्रेस निकट व्यापारी भए पनि उप्रेतीलाई नेकपा समर्थित व्यपारीसंग गठबन्धन बनाएका थिए भने रावत एक्लै चुनावी मैदानमा होमिएका थिए । संघका हालसम्मका ४ जना पूर्व अध्यक्षहरु उप्रेतीको पक्षमा उभिँदा एक जना पूर्व अध्यक्ष टेकबहादुर भणरी मात्र रावतको पक्षमा थिए । चुनावी परिणामसंगै सबै पूर्व अध्यक्षहरुमा एक जनाको समर्थन सार्थक भएको व्यापारी वृत्तमा चर्चा चल्न थालेको छ ।

रावत नेतृत्वको लोकतान्त्रिक समूहले अध्यक्षसहित महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव पदमा निर्वाचित भएका छन् । मत परिणाम अनुसार महासचिवमा लोकतान्त्रिक समूहका लक्ष्मण कँडेलले ७ सय ७८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम् प्रतिद्धन्द्धी संयुक्त व्यवसायी समूहका कलाधर उपाध्याय (केदार)ले ७ सय ४८ मत प्राप्त गरेका छन् । सचिवमा लोकतान्त्रिक समूहका रामप्रसाद पाण्डेले ७ सय ६५ मत ल्याई विजयी हुँदा संयुक्त व्यवसायी प्यानलका शिवराज जैसीले ७ सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै गरी कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका भद्र भण्डारीले ८ सय ६ मत ल्याइ विजयी हुँदा संयुक्त व्यवसायिक प्यानलका गोविन्द पाण्डेले ७ सय ३० मत ल्याएका छन् । 


संघको बरिष्ठ उपाध्यक्षसहित ३ उपाध्यक्षमा संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा हर्ष बिक्रम खड्का ७ सय ८९ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्धन्दी लोकतान्त्रिक समूहका बासुदेव शर्माले ७ सय ७४ मत पाएका छन् । वाणिज्य तर्फको उपाध्यक्षमा दीपेन्द्र ढकालले ७ सय ७३ मत ल्याई विजयी हुँदा लोकतान्त्रिक समूहका प्रवल शाहीले ७ सय ६४ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत ८ सय ५ मत ल्याएर विजय भएका छन् भने उनका प्रतिद्धन्दी हरी बिष्टले ७ सय २४ मत पाएका छन् ।

त्यस्तै संघको महिला उपाध्यक्षमा भने लोकतान्त्रिक समूहका उम्मेदवार कृष्णाकुमारी थापा ७ सय ६६ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । महिला उपाध्यक्षमा संयुक्त व्यवसायिक प्यानलकी बसन्तीकुमारी बस्नेतले ७ सय ४७ मत प्राप्त गरेकी छिन् । कार्यसमिति सदस्यहरुको मतगणना भईरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!