राष्ट्रिय गौरवको भेरी बबई सुरुङ निर्माण लक्ष्य अगावै सकिदै

Posted on: 05 Mar, 2019

फागुन २१, सुर्खेत | राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम लक्ष्य अगावै सम्पन्न गरिने भएको छ । आगामी चैत्र महिनाभित्रै सुरुङ निर्माण सक्न तिव्र गतिमा काम भइरहेको हो ।

चार वर्षमा काम सक्ने गरी करिव ३५ महिना अघि सुरुङ निर्माणको काम सुरु गरिएको थियो । हालसम्म आयोजनाको १२.२ किलोमिटर सुरुङमध्य ११.३१४ मिटर सुरुङ खनिएको भेरी–बबई डाइभर्सनका इन्जिनियर हरि खनालले जानकारी दिए । बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजनाले सुरुङ खन्ने कामलाई तिब्रता दिएको छ । चार वर्षमा सुरुङ खनिसक्ने लक्ष्य थियो । तर आयोजनाले तोकिएको अवधिभन्दा एक वर्ष पहिले नै सुरुङ खन्ने काम सक्दै छ । काम सुरु गरेको ३४ महिनामा आयोजनाले ११ किलोमिटर सुरुङ खनेको छ । यो नेपालमै टनेल बोरिङ मेशिन प्रयोग गरिएको पहिलो आयोजना हो । 

आयोजनाले सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको कामअन्तर्गत वाँध र विद्युत गृह निर्माणको प्रक्रिया अगाडि बढाएको आयोजनाका इन्जिनियर खनाल बताउँछन । भेरी नदीमा बाँध बाँधी १२ किलोमिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगी आर्थिक वर्ष ०७८/०७९ सम्म बाँके र बर्दियाको खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पु–याउने तथा हात्तीखालमा विद्युत गृह बनाएर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । 

आयोजना निर्माण अघि आयोजनाको लागत १६ अर्ब लाग्ने अनुमान थियो । तर दुई वर्षको अवधिमा झण्डै ३५ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ । यो लगात हात्तिखालमा विद्युत गृह र चिप्लेस्थित भेरी नदीमा बाध निर्माणसहितको लागत हो । चालु आर्थिक वर्षबाटै विद्युत र बाँधको काम शुरु हुन्छ’ आयोजनका इन्जिनियर खनालले भने, ‘यसका लागि टेण्डर आह्वान समेत भइसकेको छ ।’ तोली खोलाको रिक्स जोन पार गरेपछि सुरुङ निर्माणले तिव्र गति लिएको छ । सुरुङमार्फत मेशीन निस्कने चिप्लेमा हेड समेत निर्माण गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!