तीन दिनदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

Posted on: 08 Aug, 2019

साउन २३, सुर्खेत (रासस) | तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन्  । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन् ।

उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय र लेखा शाखामा तालाबन्दी गरिएको स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अध्यक्ष झक्क शाहीले जानकारी दिनुभयो । आफ्ना मागहरु  पूरा नगरेसम्मका लागि तालाबन्दी गरिने उहाँले बताउनुभयो । 

विद्यार्थी सङ्गठनहरुले विश्वविद्यालयको हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुल्क तत्काल खारेज गर्नुपर्ने, तत्काल स्ववियुको निर्वाचन घोषणा गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र प्राध्यापकहरुको दोहोरो सुविधा खारेज गर्नुपर्ने, यसअघि स्ववियु विद्यार्थी सङ्गठन र इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीसँग गरिएका सहमतिहरु तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै साउन १ गते रजिस्ट्रारलाई ज्ञापनपत्र बुझाएका थिए ।

आफ्ना मागहरु पूरा नभए मङ्गलबारदेखि विश्वविद्यालयका पदाधिकारीहरुको सवारीसाधन अनिश्चितकालका लागि बन्द गर्ने तथा अन्य आन्दोलनका कार्यक्रम अहिलेलाई स्थगित गरेको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष शाहीले बताउनुभयो । “विश्वविद्यालयका  उपकुलपति उपेन्द्रकुमार कोइरालाले विद्यार्थीका मागलाई लिएर वार्तामा बस्ने भनिसकेपछि आन्दोलनका थप कार्यक्रम रोकेका छौँ”, शाहीले भन्नुभयो, “विश्वविद्यालयमा तालाबन्दी भने यथावत राखेका छौं ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!