माओवादी केन्द्रसंग कहिल्यै एकता हुँदैन: वैद्य

Posted on: 12 Sep, 2017

भदौ २७, सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताउनुभएको छ । 

पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दशवर्षे जनयुद्धको म्याण्डेटअनुरुप काम नभएकाले पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने र त्यसले आमूल परिवर्तन ल्याउने ठोकुवा गर्नुभयो । 

आगामी असोज २१ गते पार्टीको राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न हुने र उक्त महाधिवेशनले नयाँ रणनीति बनाउने र चुनावमा भाग लिने या नलिनेबारे आगामी सचिवालयको बैठकले निर्णय गर्ने अध्यक्ष वैद्यले जानकारी दिनुभयो । 

नेपालमा क्रान्तिकारी र अवसरवादी धार रहेको र आफूहरु क्रान्तिकारीसँग मात्रै कार्यगत एकता गरेर जाने बताउँदै उहाँले देशको रूपान्तरणका लागि नयाँ जनवादी क्रान्तितर्फ जानुको विकल्प नरहेकाले सबै राष्ट्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!