आयोगको छड्के अनुगमनमा मालपोत

Posted on: 26 Dec, 2017

पुस ११, सुर्खेत । जनतासंग प्रत्यक्ष सरोकार राख्ने मालपोत कार्यालय नै अस्तव्यस्त बनेको अनुगमनका क्रममा भेटिएको छ । 

सेवाग्राहीको चाप बढी हुने कार्यालयले कार्यालय व्यवस्थापनदेखी सूचना प्रवाह गरेर भ्रम चिर्न असफल भएको अनुगमन टोलीले भेटाएको हो ।

राष्ट्रिय सूचना आयोगको टोलीले मंगलवार गरेको छड्के अनुगमनको क्रममा कार्यालयमा सूचना दिने व्यक्तिको विवरण समेत स्पष्ट अवस्थामा नराखेको पाइएको छ । कार्यालय परिसरमा पुगेका सेवाग्रहीले नै मालपोत कार्यालय सुर्खेतमा भष्ट्राचारको मुस्लो फैलिएको जनगुनासो गरेको आयोगका आयुक्त किरणकुमार पोखरेलले जानकारी दिए ।

‘यस्ता भ्रम फैलिएको अवस्थामा कार्यालयले प्रभावकारी रुपमा सूचना प्रवाह गर्नुपर्नेमा कुनै पहल नगरेको पायौं’ पोखरेलले भने, ‘ कार्यालय प्रमुखले तत्काल सूचना अधिकारीको फल्यास वोर्ड राखेर सूचनालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।’ 

जनताले अपेक्षा राखेका सूचना कार्यालयले दिए नदिएको, सूचना प्रणाली, फल्यास वोर्ड, वेवसाईट तथा सूचना अभिलेखका विषयमा अनुगमन गर्न सुर्खेत आएको आयुक्त पोखरेलले जानकारी दिए । अनुगमनको क्रममा प्रभावकारी अभिलेख राख्ने कार्यालयमा जिल्ला जनस्वास्थ्य कार्यालय भेटिएको छ ।

सूचनाको हक बारे कार्यालयले राख्ने वडापत्रमा समावेश गर्न निर्देशन दिएको पनि पोखरेलले बताए । जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरुको अनुगमन गर्न आयोगको टोली मंगलवार सुर्खेत आएको हो । 

आयोगले मालपोत, जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि, जिल्ला जनस्वास्थ्य, जिल्ला प्राविधिक, जिल्ला समन्वय समिति, वन लगायत कार्यालयहरुको अनुगमन गरेको छ । अनुगमन टोलीमा आयोगका आयुक्त पोखरेलसहित उपसचिव वेदनिधि अधिकारी र लेखा अधिकृत झलक शर्मा पौडेल छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!