प्रदेश ६ मा सरकार गठनको तयारी

Posted on: 12 Feb, 2018

माघ २९, सुर्खेत | वाम गठबन्धनले प्रदेश ६ मा सरकार गठनका लागि फागुन ३ गते प्रदेश प्रमुखसामू दाबी पेश गर्ने भएको छ ।वाम गठबन्धनमा प्रदेश ६ को मुख्यमन्त्री माओवादीले लिने सहमति भएको छ । माओवादीले पनि संसदीय दलको नेतामा महेन्द्रबहादुर शाहीलाई चयन गरिसकेको छ । शाहीले भने, ‘सभामुखको निर्वाचन सकियो । अब फागुन ३ गते मुख्यमन्त्रीको दावी पेश गर्छौं ।’

एमाले र माओवादीको प्रष्ट बहुमत भएकाले शाही सम्भवत ३ गते नै मुख्यमन्त्री नियुक्त हुनेछन् । ४० सदस्यीय प्रदेशसभामा एमाले २० र माओवादी १३ गरी ३३ सांसद छन् ।सरकार गठनको तयारीसँगै सांसदहरुले मन्त्रीका लागि लबिङ थालेका छन् । मुख्यमन्त्रीको दौडबाट बाहिरिएका माओवादी सांसद नरेश भण्डारी क्याविनेटमा आउने अनुमान गरिएको छ । माओवादी नेताहरुले आफ्नो भागमा परेका मन्त्रालयहरु मध्ये रोजेर लिा भण्डारीलई अफर गरेको स्रोतको बताएको छ ।

भण्डारीले भने आफूले धारणा बनाइनसकेको बताएका छन् । ‘क्याविनेटमा जाने कि नजाने भन्ने मैले अहिले त्यो सोचेको छैन,’भण्डारीले भने,‘यस सम्बन्धमा छलफल हुन्छ ।’प्रदेश ६ मा सभामुख र चार मन्त्री एमालेको भागमा परेको छ भने उपसभामुख, मुख्यमन्त्री र दुई मन्त्री माओवादीको भागमा परेको छ ।एमालेभित्र जाजरकोटका करवीर शाही, डोल्पाका दल रावल, दैलेखका अम्मरबहादुर थापा, सुशील थापा, सल्यानका गुलाबजंग शाह, सुर्खेतकी पदमा खड्का लगायले मन्त्रीका लागि लविङ गरिरहेका छन् ।

यस्तै सांसद पदम रोकाय, खड्क केसी पनि मन्त्रीका लागि आकांक्षी देखिएका छन् भने सभामुखको दावी गरिरहेका मुगुका चन्द्र शाहीलाई पनि एमालेले चित्त बुझाउनु पर्ने छ ।यस्तै माओवादीभित्र पनि दुई मन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । माओवादीको भागमा महिला परेको खण्डमा सीता नेपाली र बिमला केसी मध्ये एक जना मन्त्री बन्ने निश्चित छ ।विन्दमान विष्ट, ठम्मर विष्ट, धर्मराज रेग्मी, गणेशप्रसाद सिंह, रातो कामी, गोपाल शर्मा पनि मन्त्रीका दावेदार हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!