प्रदेश ६ मा सात वटा मन्त्रालय स्थापना

Posted on: 15 Feb, 2018

फागुन ३,  सुर्खेत | प्रदेश नं ६ मा बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन् । 


प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताउनुभयो । प्रदेश नं ६ प्रदेशमा सात वटा मन्त्रालय रहने छन् । 

दुई साताअघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय सञ्चालन भइसकेको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने छन् । 

भवन डिभिजन कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थापना गरिएको छ । मन्त्रालयका सचिव केशवराज आचार्यले पदभार ग्रहण गरेर काम थालिसक्नुभएको छ । मन्त्रालयको क्षेत्राधिकारभित्र शान्ति सुरक्षा, प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्यूरो, विपद् व्यवस्थापन, कानून न्याय तथा प्रदेशसभा र प्रदेश कर्मचारीलगायत पर्छन् । यो मन्त्रालय मुख्यमन्त्रीपछिको शक्तिशाली हो । 

क्षेत्रीय शिक्षा निर्देशनालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरिएको छ । मन्त्रालयका सचिव ढुण्डी निरौलाले पदभार ग्रहण गरेर काम शुरु गर्नुभएको छ । यो मन्त्रालयले प्रदेशको आर्थिक योजना तथा बजेट निर्माण गर्नेबित्तिकै संस्थाहरुको अनुगमन र नियमन गर्नेछ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, महिला, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, भाषा, संस्कृति र श्रम तथा रोजगार यसअन्तर्गत रहने छन् । निमित्त सचिव भक्तबहादुर ढकालले पदभार ग्रहण गरेर कामकाज शुरु गरेका छन् । 

सात मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना हुन बाँकी छ । डिभिजन सिँचाइको कार्यालयले मात्रै नपुग्ने भएपछि नजिकैको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयसमेतलाई मिलाएर मन्त्रालय स्थापना गरिएको मुख्यसचिव प्रधानले जानकारी दिनुभयो ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!