राजधानी सुरक्षाका लागि साइरन जडान

Posted on: 02 Mar, 2018

फागुन १८, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा साइरन जडान गरिएको छ ।

कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने प्रदेश सरकारको निर्णय अनुसार सुरुमा शुक्रबार वीरेन्द्रनगर नगरपालिका–६ प्रगतिनगर टोलमा साइरन जडान गरिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले साइरनको उद्घाटन गरेका हुन् ।

प्रगतिनगरमा राखिएको साइरन टोलका ६० जनाको मोवाइलमा सेट गरिएको छ । उनीहरुले नै टोलमा चोरी, डकैती, लुटपाट तथा अपराधिक क्रियाकलाप, प्राकृतिक प्रकोप जस्ता घटना भएमा साइरनको कोड पठाउन सक्नेछन् ।उनीहरुले कोड पठाउनेवित्तिकै साइरन बज्नुका साथै ६ जनाको मोवाइलमा म्यासेजमा जाने छ । 

जसमा ५ जना स्थानीयवासी छन् भने एउटा म्यासेस प्रहरीलाई जाने गरी मिलाइएको डिजिटल कर्णाली प्रदेश निर्माण कार्यदलका सदस्य डीएसपी वीरबहादुर वलीले जानकारी दिए ।

साइरनको उद्घाटन पछि कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारीले प्रदेशलाई डिजिटल बनाउने निर्णयअनुसार सवारीसधानमा जीपीएस जडानसँगै वीरेन्द्रनगरमा साइरन जडान गरिएको बताए ।उनले प्रदेशका शहर सुरक्षित नभएसम्म समृद्धिको बाटो नखुल्ने भन्दै पहिलो कदम स्वरुप शहर सुरक्षित गर्न साइरन जडान गरिएको बताए ।

कार्यक्रममा एआईजी रणबहादुर चन्दले पनि प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने भन्दै डिजिटल प्रदेश निर्माणको समेत आधार तयार गर्ने बताए ।यसअघि कर्णाली प्रदेशका सवारीसाधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!