पदस्थापन भएका कर्मचारी कामविहिन: राजनैतिक आडमा काजको कर्मचारी शाखा प्रमुख

Posted on: 23 Jul, 2020

नन्दराम जैशी | साउन ८, सुर्खेत | जिल्लाको भेरीगंगा नगरपालिकामा काजमा रहेका एक कर्मचारीलाई राजनैतिक आडमा शाखा प्रमुखको जिम्मेवारी दिएपछि सम्बन्धित फाँटमा पदस्थापन भईआएका कर्मचारी कामविहिन छन् । स्थानीय तहको कर्मचारी समायोजन पहिले अन्तरिम व्यवस्थापन अन्तर्गत तत्काल कामकाजका लागि राजेशकुमार बुढालाई नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी दिईएको थियो । तर कर्मचारी समायोजनपछि उनको ठाउँमा अन्य कर्मचारीको पदस्थापन भइसक्दा पनि उनले राजनैतिक आडमा शाखा प्रमुखको जिम्मेवारी छोडेका छैनन् । 

कर्मचारी पदस्थापन भइसक्दा काजको कर्मचारीलाई नगरपालिकाले शाखा प्रमुखको भुमिकामा राखिराखेपछि अन्य कर्मचारीले विरोध जनाएका छन् । ऐन अनुसार समायोजन भईआएका कर्मचारीलाई भुमिकाविहिन बनाएर राजनैतिक आडले काजको कर्मचारीलाई शाखा प्रमुख बनाईएको हो । ‘काजको कर्मचारीलाई शाखा प्रमुख बनाएर आर्थिक अधिकार दिनुभनेको गैर कानुनी काम हो’ एक कर्मचारीले भने, ‘हामी समायोजन भएर आइसकेपछि राजेशकुमार बुढालाई पद बाट हटाउनुपर्ने हो । तर राजनैतिक आडमा नियम विपरीत उनैलाई प्रमुखको जिम्मेवारी दिइएको छ ।’ 

कर्मचारी समायोजनमा राजेशकुमार बुढा दैलेखको महाबु गाउँपालिकामा परेका छन् । तर उनी भेरीगंगा नगरपालिमै काजमा बसिरहेका हुन् । यसअघि लेकबेशीको नेटा स्वास्थ्यचौकीमा कार्यरत उनले लेकवेशी नगरपालिकाको स्वाथ्य शाखा प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए । तर पछि पाटीगत स्वार्थ मिलेपछि उनलाई भेरीगंगामा काजमा ल्याईएको रुष्ट कर्मचारीले बताए । 

‘स्वास्थ्य शाखामा सबै कर्मचारी पदस्थापन भइसकेका छन् । हाम्रो पदस्थापन भएको १० महिना वित्यो । तर कार्यालय आएर हाजिर गर्ने मात्रै काम भएको छ’ सिनियर अहेव (छैटौ) धनप्रसाद देवकोटटाले भने, ‘हामीलाई शाखा प्रमुखको जिम्मेवारी नदिनुको कारण के हो ? यसको जवाफ कसैले दिएका छैनन् । तर नियमको त पालना गर्नुपर्छ नी ?’ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले यस बिषयमा चाडै नगरकार्यपालिकाले छलफल गरी नियम संगत निर्णय गर्नुपर्ने तर्क गरे । 

‘कर्मचारी सञ्चालन गर्ने जिममेवारी मेरो हो । तर कसलाई शाखा प्रमुखबाट सिधै हटाउने र कसलाई राख्ने भन्ने कुरा गर्न सकिदैन’ उनले भने, ‘यसो गर्दा जनप्रतिनिधि र कर्मचारीबिच विवाद बढ्छ । चाडै छलफल गरी नियम संगत निर्णय होस् ।’ यता नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले यस बिषयमा आफ्नो व्यस्तताको कारण छलफल गरी निर्णय गर्न ढिलाई भएको स्विकार्य ।

‘पहिलेदेखि राजेशले शाखा प्रमुखको रुपमा काम गरिरहेका थिए । अहिले पनि गरिरहेका छन्’ उनले भने, ‘कोरोना माहामारी र विविध कामले अन्य पदस्थापन भईआएका कर्मचारीलाई शाखा प्रमुखको जिम्मेवारी दिन नपाईएको हो ।’ कोरोना माहामारी रोकथाम अभियानदेखि अन्य समयमा पनि राजेशकुमार बुढाको काम चित्त बुझेको उनको भनाइ छ । तर राजेश काजको कर्मचारी भएको र उनको ठाउँमा अन्य कर्मचारी आईसकेकाले अब केही दिनमै छलफल गरी अर्कोलाई शाखा प्रमुखको जिम्मेवारी तोकिने उनले बताए । 


फोटो: भेरीगंगा नगर कार्यपालिकाको कार्यालय भवन । नन्दराम जैशी ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!