सुर्खेतमा खानेपानी समस्या समाधान खोजिँदै

Posted on: 06 Jan, 2018

पुस २२, सुर्खेत । झुप्रा खोलाबाहेक पछिल्लो समय थप गरिएको खरी र बोरीखोला आयोजनाबाट २२ लिटर प्रतिसेकेण्ड पानी थप भएपछि पानीको चर्को समस्या केही मत्थर हुने भएको छ । 

शनिवार संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा १७ करोड लागतको सो आयोजनाबाट पूर्णरुपमा सम्पन्न हुन अवको एक महिनामात्र लाग्ने संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।

उनले सो आयोजनाबाट ३० लिटर प्रतिसेकेण्ड पानी थप हुने वताए । अहिल्यै २२ लिटर प्रतिसेकेण्ड आइसकेकोले संस्थाको आम्दानी ११ प्रतिशतले थप पनि भएको जानकारी उनले दिए । 

सो आयोजनाबाट पानी आएपछि अव पानीको लोडसेडिङ २४ घन्टाभन्दा बढी नहुने बताइन्छ । यसअघि ९६ घन्टाको पालो लगाउने गरिएको थियो । सुर्खेत उपत्यकाको खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्न भेरी नदीको पानी ल्याउन लागिएको छ । 

भेरी पम्पिङ आयोजना नाम दिइ अहिले विस्तृत सर्वेको काम भइरहेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अवको तीन बर्षभित्र सुर्खेत उपत्यकाबासीले भेरी नदीको पानी खान पाउनेछन् ।

उक्त आयोजनाका लागि परामर्शदाता सिएमएस÷जेकन÷जीकन जेपी रहेको छभने क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय र सुर्खेत उपत्यका खानेपानी संस्थाले समन्वय गरिरहेका छन् । 

भेरी नदी र झुप्रा खोलाको दोभानस्थललाई स्रोतको रुपमा प्रयोग गरेर इन्फिल्टूेशन ग्यालरी, पम्पिङ स्टेशन र ओभरहेड ट्यांकीहरुलगायत आवश्यक संरचनाहरु सोही क्षेत्रमा निर्माण गर्न उपयुक्त हुने जनाइएको छ । 

विद्युत र सडकको सहज पहुँच, मर्मत सम्भार गर्न सहज हुने, पम्पिङ पश्चात ग्राभिटी फ्लोबाट पानी ल्याउन सहज हुने र पम्पिङको लागि भर्टिकल डिस्टेन्स कम पर्ने सुझाव संस्थाले दिएको छ ।

सो आयोजनाका लागि एक अर्ब बढी रकम लाग्ने जनाएको छ । संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बढ्दै गएको खानेपानी समस्यालाई दीर्घकालीन समाधान गर्न भेरीको पानी ल्याउने तयारी भइरहेको जानकारी दिए । 

उनले ९० प्रतिशत सरकारको अनुदान र १० प्रतिशत उपभोक्ताको लागतमा सो आयोजना बनाउने मोडल तयार पारिएको उल्लेख गरे । त्यति धेरै रकम जुटाउन चुनौती भएपनि दीर्घकालीन समस्या समाधानका लागि यसको विकल्पपनि नभएको अध्यक्ष देवकोटाले बताए ।

सुर्खेत उपत्यकाको एक सय बर्ष पछिसम्मको खानेपानीको माग पूरा हुनेगरी सर्वे गर्ने काम भइरहेको छ । भेरीबाट करिव ५०० देखि ७०० लिटर प्रतिसेकेण्ड पानी ल्याइने बताइन्छ । 

परामर्शदाताले पम्पिङ स्टेशन र इन्टेक बनाउनका लागि विस्तृत सर्वे गरिसकेको छ भने वीरेन्द्रनगर ११ को अमृतडाँडामा ट्रिटमेन्ट प्लान्ट निर्माणको पनि सर्वे गरिसकेको छ । 

साथै सुर्खेत उपत्यकाको धुरीधुरी सर्वेक्षणका लागि ५ जनाको टोली बनाएर विभिन्न स्थानका ८०० घरधुरीको तथ्याङ्क संकलन भइरहेको संस्थाका अध्यक्ष देवकोटाले जनाए ।

भेरी नदीको पानी नै सुर्खेत उपत्यकाबासीको दीर्घकालीन खानेपानी समस्या समाधानको एउटामात्रै उपाय रहेको उनले बताए । सुर्खेत उपत्यकामा अहिले डेढ लाख जनसंख्या छ । 

उक्त जनसंख्यालाई दैनिक एक करोड ५० लाख लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने १४१ लिटर प्रतिसेकेण्ड मात्रै भइरहेको छ । अझै दैनिक २८ लाख लिटर पानी अपुग छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!