सूचनाको हकसम्वन्धी तीन दिने कार्यशाला

Posted on: 17 Feb, 2018

फागुन ५, सुर्खेत |  फ्रिडम फोरम नेपालले सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई सूचना प्रवाहमा सहजता ल्याउन सूचनाको हकसम्वन्धी तीन दिने कार्यशाला संचालन गरेको छ । तालिममा फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीले सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई सूचना प्रवाहमा सहजता ल्याउनका लागि कार्यशालाको आयोजना गरिएको बताए ।

उनले जति राम्ररी सूचना प्रवाह गर्न सकियो, त्यति नै नागरिकले सूचनाको हक उपभोग गर्न पाउने भएकोले सूचना अधिकारीहरुको समस्या पहिचान र समस्याका उपायहरु यस कार्यशालामा खोजिने उल्लेख गरे । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति धर्मेन्द्र झाले नयाँ संरचना अनुसार स्थानीय तहलाई सूचनाको हकको प्रयोग गरेर पारदर्शी बनाउन आवश्यक रहेको बताए ।

उनले लोकतन्त्रको सुदृढिकरण सूचनाको हकबाट हुने भएकोले त्यसका लागि सरकारी कार्यालयका सूचना अधिकारीहरुको भूमिका गहन हुने जनाए । पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलले नागरिकलाइ बलियो बनाउने माध्यम नै सूचनाको हक भएको बताए । उनले सूचना अधिकारीहरुले सहज रुपमा प्रदान गर्ने सूचनाबाट उपभोक्ताहरु सन्तुष्ट हुने र सरकारी कार्यालयको कामपनि पारदर्शी हुने जनाए । भेरी र राप्ती अंचलका विभिन्न कार्यालयका गरी दुई दर्जन सूचना अधिकारीहरुको सहभागिता रहेको कार्यशालामा फ्रिडम फोरमका कार्यक्रम अधिकृत संजीव घिमिरेले कार्यशालाको उपादेयतामाथि प्रकाश पारेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!