शव परीक्षणपछि मेहतालाई भारत लगिँदै

Posted on: 15 Aug, 2018

साउन ३०, सुर्खेत | मनाङ एयरको हेलिकप्टरको पङ्खा लागेर हिल्सामा मृत्यु भएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ । 


मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मङ्गलबार हिल्सामा हेलिकप्टरबाट ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको थियो । मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पुर्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले राससलाई बताउनुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मृतकका परिवारबाट जाहेरी लिई बयान सकेर शव परीक्षण गर्न थालिएको बताउनुभयो । शव परीक्षणपश्चात् आफन्तलाई बुझाई हेलिकोप्टरबाट काठमाडौँ हुँदै भारत लगिने तयारी गरिएको छ । सेल्फी खिच्ने क्रममा पङ्खा लागेर मेहताको टाउको क्षतविक्षेत भएको थियो । उनको परिवारसहित तीन जना आफन्त मुम्बईको एक्स्प्लोर कैलाश ट्रेक प्राइभेट लिमिटेडबाट एक हप्ताका लागि मानसरोवर दर्शन गर्न गएका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!