मुलुकी संहिता लागु गराउँछौँ : एसपी

Posted on: 19 Aug, 2018

 भदौ ३, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले अपराधमुक्त समाज बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । समाजमा शान्ति स्थापना गर्नु प्रहरी प्रशासनको दायित्व भएकोले त्यसका लागि समाजमा हुने आपराधिक गतिविधि अन्त्यका गर्न आफूहरु अहरोत्र खटिने आश्वासन उनले दिएका छन् । एक हप्ता अघि मात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय सुर्खेतको जिम्मेवारी सम्हालेका एसपी रजौरेले प्रहरीलाई देखेर जनता नभई अपराधी डराउने वातावरण सृजना गरेर छाड्ने उद्घोष गरेका छन् ।


‘जनता हाम्रो काम कारवाहीबाट डरानु हुँदैन, तर अपराध गर्नेहरु डराउनैपर्छ ।’ रजौरले भने, ‘अपराधको अनुसन्धान र नियन्त्रणलाई मुख्य बनाएर हामी कामहरु बढाउनेछौँ । यसमा सुर्खेतीको साथ र समर्थन पाउनेमा ढुक्क छु ।’ अपराध अनुसन्धानसँगै त्यसको नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमहरुलाई पनि विशेष प्राथमिकतामा राख्ने रजौरेको भनाई छ । भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी ऐन संहितालाई पूर्ण रुपमा लागु गराउने विश्वास व्यक्त गरे । ‘अहिलेको नयाँ कानुन पहिलेको जस्तो सहज छैन, यसले अपराध गर्नेहरुलाई नियन्त्रणमा राख्छ, त्यही कार्यान्वयनका लागि हामी आफ्नो तर्फबाट काम गर्छौँ’ रजौरेले भने । मुलुकी संहिता कसरी कार्यान्वय गर्ने भन्ने विषयमा छलफल जारी राखेकाले केही दिनमा देखिने कामहरु अघि बढाउने बताए । उनले जिल्लामा बढ्दो मात्रामा देखिएको आत्महत्याका घटना न्यूनिकरण गर्ने समेत बताए । जुवातास नियन्त्रणको लागि पनि सुर्खेत प्रहरी कडाईका साथ लाग्ने एसपी रजौरेको भनाई छ । नयाँ लागु भएको मुलुकी संहिता बारे बताउँदै उनले भने, ‘आत्महत्याको प्रोत्साहन गर्ने र जुवातास खेल्नेहरुको लागि अहिलेको कानुन कडा छ, जसले यस्ता गतिविधिहरु नियन्त्रण हुनेछन् ।’

सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जिल्लामा शान्ति स्थापनालाई प्राथमिकता दिएर अघि बढ्ने बताए । एक हप्ता अघि मात्र सुर्खेत सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी यादवले जिल्ला प्रशासनको मातहतमा रहेका इलाका प्रशासन कार्यालय बावियाचौरमा एक हप्ताभित्र कर्मचारीहरु पठाउने व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!