पूर्वराजाको ३४ विगाह जग्गा प्रयोगविहिन

Posted on: 12 Dec, 2018

मङ्सिर २६, सुर्खेत । पुर्वराज परिवारको नाममा रहेको सुर्खेतस्थित ठुलो परिमाणको जग्गा प्रयोग विहीन अवस्थामा रहेको छ । कुनै बेला मध्य तथा सुदुर क्षेत्रकै ठुलो राजदरवार वनाउने चर्चा पाएको सो जमिन पुर्वराजा वीरेन्द्रको वंशनाश पश्चात ओझेलमा परेको हो । देशमा पटक पटक भएका राजनैतिक परिवर्तनसँगै आएका कुनै पनि सरकारले सो जग्गाको उपयोगको सम्बन्धमा कुनै चासो नदेखाउँदा सो जग्गा अलपत्र अवस्थामा छ ।

सुर्खेतको साविक लाटीकोइली गाबिस र हाल वीरेन्द्रनगर नगरपालिका अन्र्तगत पुर्वराजा वीरेन्द्रका शाहको नाममा रहेको ३४ विगाह ७ कठ्ठा पौने ५ धुर (दुई लाख ३२ हजार ७ सय २० वर्गमिटर) जग्गा २०६३ सालपछी नेपाल ट्रष्टको स्वामित्वमा गए पनि प्रयोगविहीन छ । नेपाल सरकारले पुर्वराजा परिवार र संस्थाको सम्पूर्ण सम्पत्ती नेपाल ट्रष्टको स्वामित्वमास्वतः जाने व्यवस्था गरेल पनि हालसम्म सो जग्गाको जग्गा धनीको नाम श्री ५ महाराजधिराज सरकार कायमै राखिएको छ । साविकको लाटिकोईली गाविस र हालको वीरेन्द्रनगर नगरपालिका वडा न.१० अन्र्तगत लाटीकोईली ४–च,कित्ता न.१ को सो जग्गा २०३४ साल बैशाख २ गते पुर्वराजा वीरेन्द्रको नाममा कायम भएको जिल्ला नापी शाखा कार्यालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ ।

भुमिसुधार मन्त्रालय ताथा भुमिसुधार विभागको आदेश अनुसार प्राप्त भएको भुमिसुधार प्रशासन सुर्खेतको पत्र सँख्या २६५÷०३३÷०३४ मिती २०३३ चैत्र ३० को पत्र बमोजिम संलग्न प्रिन्ट नक्सालाई सक्कल नक्सा मानि सोही नक्साको आधारमा आदेश अनुसार जग्गा कायम गरिएको छ । भनि पुर्वराजा वीरेन्द्रको नाममा सो जग्गा कायम रहेको उक्त जग्गाको श्रेस्तामा उल्लेख गरिएको नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र श्रेष्ठले बताए । नापी शाखा सुर्खेतको श्रेस्तामा उल्लेख भए अनुसार पुर्वमा –बाटो रत्नराजमार्ग,पश्चिममा –श्रीखोला, उत्तरमा–जंगल र दक्षिणमा–बाटो, देखाइ चारकिल्ला निर्धारण गरिएको पुर्वराजा वीरेन्द्रको नाममा रहेको उक्त पाखा,चाहर जग्गा नेपाल ट्रष्टको स्वामित्वमा गएको एक दशक वितिसक्दा पनि जग्गा सदुपयोगको प्रक्रिया अघि बढ्न सकेको छैन । जिल्ला तहमा नेपाल ट्रष्टको नाममा रहेको जग्गा रेखदेख तथा संरक्षणको प्रमुख जिम्मेवार निकाय सम्बन्धित जिल्ला प्रशासन कार्यालय हुने प्रावधान छ । तर सुर्खेतमा रहेको सो जग्गाको उपयोग र संरक्षणका सम्बन्धमा नै सुर्खेतका प्रमुख जिल्ला अधीकारी वीरेन्द्रकुमार यादवले अनभिज्ञता प्रकट गरेका छन् ।

२०६३ साल पछि नेपाल सरकारले राजपरिवार र त्यसका सदस्यको नाममा रहेको जग्गा तथा भौतिक संरचना स्वतः नेपाल ट्रष्टको संरक्षण र स्वामित्वमा रहने व्यवस्था ऐनमार्फत गरिसकेकोले त्यो जग्गाको संरक्षण र सदुपयोगको निर्णय गर्ने अधिकार नेपाल ट्रष्टमा निहीत रहेको छ ।यस्ता जग्गाहरु तथा त्यसबाट अएको आम्दानीलाई सामाजिक सेवाको क्षेत्रमा लगानी गर्नुपर्ने ऐनमा उल्लेख भएतापनि सुर्खेतमा रहेको त्यत्रो धेरै जग्गा उपयोग बिहीन हुनु दुःखदभएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देबकुमार सुवेदीले बताए । लामो समयसम्म सो जग्गाको सदुपयोग र संरक्षणमा कहीँ कतैबाट चासो नदेखाएपछी अब त्यस क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा बिस्तार गरी सदुपयोग र संरक्षणको कार्य अघि बढाउनका लागी वीरेन्द्रनगरनगरपालिकाले यस क्षेत्रका उद्योगी व्यापारी सम्बन्धित प्रदेश मन्त्रालयसँग छलफलको प्रक्रिया अघि बढाएको नगर प्रमुख सुवेदीले बताए । कोहलपुर–सुर्खेत रत्नराजमार्गसँग जोडिएको सदाबहार बगीरहने भेरी नदीसँग जोडिएको, सुर्खेत उपत्यकाको उच्च स्थानमा रहेको सो जग्गा बसोबासका लागी उत्तम मानिएको छ । उक्त स्थानबाट उपत्यकाको सम्पुर्ण भु–भागको अवलोकन समेत गर्न सकिन्छ । वि.स.२०२९ सालको नापी अभियानको अन्ततिर पुर्वराजाले क्षेत्रीय स्तरको दरबार स्थापना गर्नको लागी  भनि सो जग्गा छुट्याउन लगाएको जिल्ला विकास समिती सुर्खेतका पुर्व सभापती बसन्त कुमार थापाले बताए ।

मध्य तथा सुदुर क्षेत्रको सम्पूर्ण विकास तथा प्रशासनिक कार्यको अनुगमन तथा मुल्याङ्कन र क्षेत्रगत भ्रमणका क्रममा राजपरिवारको बसोबासका लागी समेत भनि सुबिधा सम्पन्न क्षेत्रीय स्तरको दरवार स्थापना गर्ने कुराचलेपनी विविध कारणले निर्माण कार्य अघि बढ्न नसकेको बताइएको छ । हाल नेपाल सरकारले नेपाल ट्रष्टको स्वामित्वमा सुम्पिएको सो जग्गा यसरी उपयोग विहीन बनाएर राख्नु हुँदैन उपयुक्त नभएको पूर्व सभापति थापाले बताए । ‘पूर्व राजपरिवारको जग्गा कि राज्यले कुनै नयाँ प्रयोजनमा लानुपर्यो नभए त्यसबाट नागरिक र राज्यलाई आम्दानी हुने बाटो अवलम्बन गर्नु पर्नेहो ।’ पूर्व राजपरिवारको नाममा रहेको जग्गालाई संरक्षित क्षेत्र घोषणा गर्नु पर्ने उनको सुझाव छ ।

२०२९ सालको नापीबाट साविक लाटीकोइली गाविसमा पुर्व राजा वीरेन्द्र,बुलबुले उद्यान क्षेत्र ३१ विगाह ८ कठ्ठा जग्गा र हाल नेपाली सेनाको व्यारेक तथा सैनिक महाविद्यालय रहेको मंगलगढी क्षेत्रको जग्गा यसरी नै छुट्याइएका पनि यी तीनवटै स्थानवाट हालसम्म राजश्व असुली भएको देखिदैन । बुलबुले र मंगलगढी क्षेत्रको जग्गाको राजश्व असुली लगत श्रेष्ता कायम भए पनि राजा वीरेन्द्रको नाममा रहेको सो जग्गाको राजश्व असुली लगत श्रेष्ता समेत कायम नभएको वीरेन्द्रनगर नगरपालिकाले राजश्व श्रेष्ता कायम भएका र भोगचलनमा आएका जग्गा जमिनको जो कोहीले पनि सरुकारलाई राजश्व कर तिर्नै पर्ने तर्क नगर प्रमुख सुवेदीको छ । नगर क्षेत्रभित्र यसरी राजश्व संकलनको दायरामा नआएका जग्गा जमिन र भौतिक संरचनाको खोजी गरी याथाशक्य छिटो प्रचलित प्रक्रियामा ल्याइने नगर प्रमूख सुवेदीले बताए ।

२०४६ सालसम्मराजाको नाममा रहेको जग्गामको बारेमा बोल्न र खोविन गर्न आँट कसैले गर्न सकेनन् । प्रजातन्त्र पुनस्थापना पछि खोजी र उपयोगको बाटोमा लागिनु पथ्र्यो त्यो पनि भएन । वर्तमानमा राजसंस्था नै नरहेको अवस्थामा सो जग्गा नेपाल ट्रष्टको स्वामित्वमा गई सक्दा समेत उपयोग हुन सकेको छैन । रत्न राजमार्ग, भेरी नदी र सुर्खेत उपत्यकाको दक्षिण पूर्वी क्षेत्रमा रहेको सो जग्गा जंगल रहेकोले अहिले देउती बज्यै सामुदायिक वन र शिवशक्ति सामुदायिक वन उपभोक्ता समितीमार्फत संरक्षण भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!