‘धर्म निरपेक्षताले समाज हिंसात्मक बन्दैछ’

Posted on: 12 Dec, 2018

मङ्सिर २६, सुर्खेत । राप्रपा कर्णाली प्रदेशले धर्मनिरपेक्षताले समाज हिंसात्मक बन्दै गएको बताएको छ । मंसिर २७ र २८ गते सुर्खेतमा हुने पार्टी प्रशिक्षण वारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताईएको हो ।

राप्रपा केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष धनबहादुर बुढाले संविधान निर्माणताका नै धर्म निरपेक्षताका विषयमा आफ्नो पार्टीले नोट अफ डिसेन्ट जारी गरेको बताए । उनले अहिलेको संविधानलाई आफुहरुले स्वीकार गरेपनि हिन्दु राज्य स्थापनाका लागी जनमत सृजना गरी शंसोधन गर्ने बताए । निर्वाचनले मात्रै पार्टीको भविष्य निर्धारण गर्दैन उनले भने, ‘पार्टी भित्र केही तालमेल नमिलेर हामीले निर्वाचनमा पराजय भोग्नु प¥यो ।’ तर अव राप्रपा नयाँ शिरावाट अघि वढेकोले आगामी निर्वाचनमा आफुहरु देशको प्रमुख शक्ति भएर आउने दावी उनको छ । ईतिहासमा आफ्नो पार्टीले मुलुकको महत्वपूर्ण पदहरु समालेको स्मरण गर्दै उनले थपे, ‘राप्रपाबाट देशले ४ पटक प्रधानमन्त्री र ३ पटक मन्त्री पाएको सर्वविदितै छ हामी दलिए भाग बण्डामा लाग्ने पक्षमा छैनौं ।’ नेपालमा विदेशीको स्वार्थमा धर्म निरपेक्षता लागु भएको उनको आरोप छ ।


राप्रपा हिन्दु राज्यको पक्षमा भएपनि अन्य धर्मको अस्तीत्व भने स्वीकार गर्ने उनले प्रष्ट पारे । राप्रपा नेपाल र राप्रपा प्रजातान्त्री विचको पार्टी एकतामा पत्रकारले राखेको जिज्ञासामा उनले अवको पार्टी एकता परिपक्क र स्थायी हुने जवाफ दिए । राप्रपा प्रजातान्त्रीकले अहिले ७ ओटै प्रदेशमा पार्टी प्रशिक्षणको क्रमलाई निरन्तर दिएको छ ।  पार्टी प्रशिक्षणका लागी केन्द्रीय अध्यक्ष कमल थापा, सांसद राजेन्द्र लिङदेन लगाएत सुर्खेत आउने नेता बुढाले जानकारी दिए । कर्णाली प्रदेशका सवै गाउ, नगर, जिल्ला एवम् क्षेत्रका नेता तथा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने अध्यक्ष बुढाकोे भनाई थियो । राजसंस्था सहितको हिन्दु राज्य स्थापनाका लागी पार्टीले फाल्गुण ७ गते काठमान्डौमा बृहत आन्दोलन गर्ने तयारी राप्रपाको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!