विप्लवले गाडी जलाउँदा प्रहरीलाई तनाव

Posted on: 19 Jan, 2019

माघ ५, सुर्खेत । शनिवार विहानै सुर्खेतमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बन्दको अवज्ञा गरेको भन्दै दुई ट्रकमा आगजनी ग¥यो । नेपालगञ्जबाट ईट्टा लिएर बावियाचौर जाँदै गरेको ना ६ ख १७३२ नम्बरको ट्रकमा विप्लवका कार्यकर्ताले कर्णाली राजमार्गको बड्डीचौर नजिकै आगजनी गरे । कर्णाली राजमार्गको बांगेशीमल–बड्डीचौर सडक खण्डको चेपाङ्ग जाने प्रतिक्षालय नजिकै सडकमा विप्लवका कार्यकर्ताले सडक अवरुद्ध गरेर ट्रकमा आगजनी गरे । 


विहान २ बजे भएको सो घटना थाहा पाउने वित्तिकै बड्डीचौर प्रहरी पोष्टबाट असई कृष्ण कंडेलको नेतृत्वमा गएको प्रहरी टोलीले ट्रकमा लागेको आगो निभायो । ट्रकको अगाडीको भागमा आगलागी भएपनि प्रहरीले थप क्षती हुनबाट जोगायो । एकाविहानै प्रहरीले यो सूचना जिल्ला प्रहरी कर्यालयको कन्ट्रोलमा टिपायो । त्यस लगत्तै प्रहरीले सुर्खेत जिल्लाभर उच्च शतर्कता अपनाउन प्रहरीलाई डिएसपी प्रदिप क्षेत्रीले निर्देशन दिए । ‘राजमार्गमा चल्ने रात्रीकालिन सवारीलाई आफ्नै चौकी आसपासमा रोक्न र कुनै पनि सवारीहरुलाई नछोड्न निर्देशन डिएसपी सापबाट जाहेर भयो’ एक प्रहरी अधिकारीले भने, ‘रत्न राजमार्ग, छिन्चु–जाजरकोट, सुर्खेत–दैलेख सडक र सुर्खेत–जुम्ला सडक भएर सुर्खेत भित्रने सवारीलाई सम्वन्धि चौकी र प्रहरी पोष्टमा रोक्न आदेश भएको थियो ।’ 

बड्डीचौर नजिकै ट्रकमा आगजनी भएपछि छिन्चु प्रहरीले नेपालगञ्जबाट भित्रने सवारीलाई छिन्चुमै रोक्यो । तर खाद्यन्न बोकेर नेपालगञ्जबाट वीरेन्द्रनगर आउँदै गरेको ना ६ ख ७३१३ नम्बरको ट्रकलाई शनिबार विहान ४ बजेतिर सत्तरीमा विप्लवका कार्यकर्ताले आगजनी गरे । ‘छिन्चुमै रातीमा आइरहेका सवारीलाई प्रहरीले रोकिरहेका थियो, ति चालकले अटेरी गरेर गाडी हुक्याए छन्’ ति प्रहरी अधिकारी भन्छन्, ‘दोस्रो ट्रकमा पनि विप्लवका कार्यकर्ताले आगजनी गरेपछि प्रहरीले थप शतर्कता अपनायो ।’ रत्न राजमार्गको सत्तरीमा आगजनी गरेको गाडीलाई वीरेन्द्रनगरबाट दमकल पुगेपछि ठूलो क्षती हुनबाट जोगायो ।

‘विगतका दिनमा पनि विप्लवले बन्द गर्दा आन्दोलन त्यति उग्र भएन् । बन्द भएपनि सवारी साधनमाथि सुर्खेतमा आगजनी गरिएको थिएन्’ नाम नखुलाउने शर्तमा एक प्रहरीले अधिकारीले भने, ‘शनिबार एक्काशी विप्लव माओवादीका कार्यकताले जिल्लामा एसपी नभएको बेला विप्लवका कार्यकर्ता नै उग्र बनेपछि डिएसपी साप नै दिनभर तनावमा हुनुहुन्थ्यो ।’ विहानै दुई मालबहाक ट्रकमा आगजनी भएपछि डिएसपी क्षत्री नै स्कटिङ्गका लागि हिडेका थिए । बन्दका कारणमा शनिबार विहानैदेखी सुर्खेतबाट छोटा तथा लामा दुरीका सवारी साधन सञ्चालनमा आएनन् । प्रहरीले रात्रीकालिन सवारीलाई भने स्कटिङ्ग गरेर वीरेन्द्रनगर ल्याएको थियो । बन्दका कारण सयौं गाडीहरु सुर्खेतको सिमानामा रोकिदा यात्रुहरुको विचल्ली भएको थियो ।

विप्लव माओवादीले गत पौष २२ गते विद्यार्थीहरुको जिल्ला सम्मेलनको अवस्थामा जिल्ला भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई झुट्ठा मुद्दामा प्रहरीले गिरफ्तार गरेको विरोधमा बन्दको आयोजना गरेको थियो । ‘तत्काल रिहाईको माग गर्दै बन्दको घोषण गरेका हौं’ विप्लव सुर्खेत जिल्ला सेक्रेटरी यमराजले भने, ‘प्रहरीले पक्राउ भएका आफ्ना कार्यकर्तालाई रिहाईको सट्टा शनिवार नै भेरीगंगाको छिन्चुबाट घरमै बसिरहेको व्यापार संगठन सदस्य पूर्णबहादुर बुढाथोकी र वीरेन्द्रनगर–१२, कमल विसीलाई पक्राउ गरेको छ । अब यसको भण्डाफोर गर्न थप संघर्षका कार्यक्रम सञ्चालन गर्ने योजनामा छौं ।’ उनले संघर्षका थप कार्यक्रम घोषणा गरिने समेत बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!