चितुवाको छाला किन्न प्रहरी नै ग्राहक बनेपछि...

Posted on: 20 Jan, 2019

माघ ६, सुर्खेत । ५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक बोदराज रेग्मीलाई विशेष सूचना प्राप्त भयो । उनलाई कालिकोटका एक व्यक्तिले चितुवाको छाला विक्री गर्ने योजना बनाइरहेको सूचना थाहा पाए । उनले विशेष सूचनालाई गम्भीर रुपमा लिँदै आफै ग्राहक बनेर सुर्खेत आइपुगे । 


उनीसहितको टोलीले कालिकोट जिल्ला रास्कोट नगरपालिका–४ सिउनाका टंकप्रसाद उपाध्यायसंग सम्पर्क गरे । प्रहरी टोलीले उनलाई वीरेन्द्रनगर–३ स्थित होटल भिजिट रारामा छाला किन्ने फोन सम्बाद भयो । रेग्मीलाई शुरुमै उपाध्यायले छाला देखाउन मानेनन् । उनले कतिमा किन्ने भन्ने निक्र्यौलविना छाला नखोउने अड्डी कसे । रेग्मीले राम्रै रकम दिने निर्णय सुनाए । त्यसलगत्तै उपाध्ययले आफूसंग भएको चितुवाको छाला देखाएपछि प्रहरीको फन्दाको परे ।

रेग्मीसहितको टोलीले उपाध्यायलाई होटल भिजिट राराको अगाडीबाट पक्राउ गरेको छ । उपाध्ययको साथबाट दुई थान ध्वाँसे चितुवाको छाला बरामद गरेको ५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । उनले पक्राउ परेका उपाध्यायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए । हामी अहिले घटनास्थलमा मुचुल्का उठाइरहेका छौं’ रेग्मीले भने, ‘उनलाई उतै लाने वा सुर्खेत प्रहरीको जिम्मा लगाउने भन्ने विषयमा टुंगो लागेको छैन् ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!