सुर्खेतको खानेपानी संस्था देशकै उत्कृष्ट

Posted on: 15 Feb, 2019

फागुन ३, सुर्खेत । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशैभरीका खानेपानी उपभोक्ता संस्थामा उत्कृष्ट भएको छ । खानेपानीको संस्थागत सुधार तथा स्तरउन्नति कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गदै उल्लेखनिय सुधार गरी उत्कृष्ट छनौट भएर संस्थाले कदर पत्र समेत प्राप्त गर्न सफल भएको हो ।

नगर विकास कोषको आशिंक लागत असुली र सहभागीतामा निर्माण भएका देशैभरीका साना सहरी खानेपानी आयोजनाहरु मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट संस्थाको रुपमा छनौट भएको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । कोषको ३१ औ बार्षिक उत्सवको अवसरमा काठमाडौमा भएको कार्यक्रममा सहरी विकास मन्त्री मोहमद इतियार राईले संस्थाका अध्यक्ष कुलमणि देवकोटालाई उत्कृष्ट संस्थाको रुपमा कदर पत्र प्रदान गरेका छन् । प्राकृतिक रुपमा खानेपानीको स्रोतको अभावका बाजजुद खानेपानीको संस्थागत सुधार र स्तर उन्नतिलाई रचनात्मक रुपले अगाडी बढाएर उत्कृष्ट हुदै कदर पत्र प्राप्त गर्न सफल भएको देवकोटाले बताए । ‘यसले जिल्लाको प्रतिष्ठा पनि बढाउनुको साथै थप काम गर्ने हौसला मिलेको छ’ अध्यक्ष देवकोटाले भने, ‘सुर्खेत उपत्यकाबासी जनतालाई सर्वसुलव रुपमा खानेपानी सेवा प्रवाह गर्न अझै थुप्रै काम गर्न बाकी छन् तिनलाई पनि पूर्णता दिन्छौं ।’ 


नगर विकास कोषको आशिंक लागत असुली र जनसहभागीतामा आधारित देशैभरीका ७० वटा खानेपानी आयोजना मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था पनि एउटा हो । कार्यक्रममा सुर्खेत उपत्यका खानेपानी संस्थाको साथै दमक खानेपानी उपभोक्ता संस्था, पोखरा महानगरपालिका र धनगडी उपमहानगरपालिका पनि उत्कृष्ट कदर पत्र प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा मन्त्रालयका विभागिय प्रमुख, साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका अगुवालगायतका सहभागीता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!