महिला सांसदलाई प्राथमिकतामा नराखेको गुनासो

Posted on: 14 Mar, 2019

फागुन ३०, सुर्खेत । कर्णालीका महिला सांसदहरुले आफूहरुलाई मिडियाले प्राथमिकतामा नराखेको गुनासो गरेका छन् । प्रदेश सभा सचिवालयको आयोजनामा गरेको कार्यक्रममा प्रदेश सभाका महिला सांसदहरुले आफूहरुलाई सञ्चारमाध्यमले प्राथमिकतामा नराखेको गुनासो गरेका हुन् । 


विशेष र शून्य समयमा महिला र पुरुष सांसदले बोले पनि महिला सांसदका आवाज समाचारमा नसमेटिएको गुनासो सांसद पद्मा खड्काको थियो । उनले तुलनात्मकरुपमा पुरुषभन्दा महिला सांसदहरुका समाचार धेरै कम आएको बताईन् । ‘आफूले संसदमा राखेको वन विज्ञान विश्वविद्यालयको विषयदेखि नदी दोहन, बाटोघाटोका समस्याहरु मिडियाबाट सार्वजनिक हुन नसकेकेको उनको दुखेसो थियो । सांसद कौशिला खत्री, मिनासिंह रखाललगायतले पनि सञ्चारमाध्यम महिलामैत्री नहुँदा संसदमा राखेका गम्भीर सवाल पनि बहसको विषय हुन नसकेको गुनासो गरिन् । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले  सञ्चार माध्यममा कसरी विषय उठान गर्ने भन्ने विषय सांसदको कलामा भर पर्ने बताइन् । उनले हरेक विषयलाई सञ्चार माध्यमले गम्भीरताका साथ लिएर जनतालाई सूसुचित गर्न समेत आग्रह गरिन् । 

प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती विष्टले प्रादेशिक संसदको अभ्यासमा रहेकाले कतिपय विषयमा ध्यान पुग्न नसक्ने भन्दै संसद र पत्रकारबीचको सहकार्यमा सच्याउँदै लैजानुपर्ने धारणा राखिन् । बेलायती पूर्वसांसद एनी मक्लौगल्लिनले सञ्चारमाध्यमले गर्ने आलोचनालाई स्वीकार गर्न सांसदहरुलाई आग्रह गरेकी छन् । नेपालमात्रै होइन विश्वका अन्य देशमा पनि पुरुषलाई जति सहज महिला सांसदलाई नभएको उल्लेख गरिन् । 


कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले पत्रकारलाई समाचार संकलनमा सहज बनाउन प्रदेश सभा सचिवालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । नेकपा प्रमुख सचेतक गुलावजंग शाहले पत्रकार र सांसदहरुबीच अन्योन्याश्रित सम्बन्ध रहनुपर्नेमा जोड दिए । कांग्रेस प्रमुख सचेतकहिमबहादुर शाहीले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्था जोगाउन संसदीय मामिला पत्रकारको भूमिका बढी हुने बताए । कार्यक्रममा वरिष्ठ पत्रकार तीर्थ कोइराला र नितु पण्डितले संसदभित्रका विषयलाई प्रस्तुत गर्दा सांसद र पत्रकारले धेरै सजगता अपनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा संसदीय मामिला पत्रकारले प्रदेश सभा सचिवालय पत्रकारमैत्री हुन नसकेको गुनासो गर्दै समाचार संकलनमा सहजता अपनाइदिन आग्रह गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!