सयौं यात्रु विमानस्थलमै अलपत्र

Posted on: 03 Apr, 2019

चैत २०, सुर्खेत | पैसा तिरेर टिकट लिन युद्ध जिते झैं गर्नुपर्ने बाध्यताबाट अहिले पनि साविकको कर्णालीमुक्त हुन सकेको छैन । यसको चरम मारमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएका जिल्ला हुम्ला र डोल्पा छन् । विमान नहुँदा यसपटक सयौं हुम्लीवासी सुर्खेत विमानस्थलमा अलपत्र छन् ।     

उपचार एवं विभिन्न कामले राजधानी सुर्खेत झरेका उनीहरुलाई बेलैमा हुम्ला कसरी पुग्ने भन्ने कुरोले पिरोल्न थालेको छ । वर्षेबाली लगाउने बेला चुक्ने हो कि भन्ने कुराले बढी पिरोलेको यात्रु छवि थापाले बताए । ‘उसै त हुम्लामा उत्पादन नै कम हुन्छ,’ उनले भने, ‘बाली लगाउने बेला चुक्यो भने भोकमरी पर्ने निश्चित छ ।’ 

हवाई यातायातको विकल्प नभएको हुम्लाको समस्याप्रति सरकारको चासो नरहेको हुम्ली सेवा समाजका अध्यक्ष कलबहादुर लामाले टिप्पणी गरे । ‘निजी जहाज आफू खुशी चल्छन्,’ अध्यक्ष लामाले दुखेसो पोखे, ‘सरकारको जहाजले राजधानी सुर्खेत–हुम्ला सेवा दिदैन ।’ उनका अनुसार यात्रुलाई प्राथमिकतामा राखेर काम गर्नेगरी यही चैत १८ गते तारा, सीता र समिट विमानका कम्पनीसँग हप्ताको एक दिन यात्रु उडान गर्न सम्झौता गरिएको छ ।      

यात्रु जय बुढाले सरकारी जहाँज नहुँदा निजी विमान कम्पनीले टिकट नदिने गरेको बताए । गरीबी, पीडा र अविकासमा राज्य आजसम्म गम्भीर नबन्दा झनै पीडा खेप्नु परेको उनको दुखेसो थियो ।     

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट नै नेपाल वायुसेवाको सेवा राजधानी सुर्खेतबाट हुम्लालगायत सबै जिल्लामा दिन सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णयगरी पठाएको बताए । सडकमार्ग जोडिएका जिल्ला नभइ राजधानी सुर्खेतबाट हवाई यातायात एकमात्र विकल्प भएको जिल्ला हुम्ला जोड्न नेपाल वायुसेवा निगम सम्बन्ध ‘सेतु’ बन्नुपर्नेमा उनको जोड छ ।

    मुख्यमन्त्री शाहीले भने, ‘यसका विषयमा हामी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पनि बस्यौं, कहिले पाइलट छैन, कहिले केही छैन भनेर टारियो ।’ पटक÷पटकको मन्त्रिपरिषद्को निर्णयले एउटा जहाज भाडामा दिन वा अर्को जहाज किन्ने स्वीकृत प्रदान गर्न सङ्घलाई अनुरोध गर्दा पनि त्यसको सम्बोधन हुन नसकेको उनको भनाइ छ ।     

नागरिक उड्डयन कार्यालय सु्र्खेतका प्रमुख विनोद पन्तले नेपाल वायुसेवा निगमको जहाज कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कुनै पनि जिल्लामा नजोडिएको जानकारी दिए । ‘निगमको जहाज चले हुम्ला नागरिकको आधा समस्या हल हुन्छ,’ उनले भने, ‘यहाँ सेवा प्रवाह गर्दा निगमलाई पनि घाटा छैन ।’     

यस बिषयमा तपाइको प्रतिक्रिया...!