कर्णाली प्रदेश अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन

Posted on: 23 Apr, 2019

सुर्खेत १०, बैशाख ।कर्णाली प्रदेश अस्पतालले सिटी स्क्यान सेवा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागबाट ४ करोड बढीको लागत अनुदानमा सिटीस्क्यान मेसिन प्राप्त गरेपछि अस्पतालले उक्त सेवा थप गरेको हो । नेपाल सरकारका उपप्रधान तथा एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक कार्यक्रमकाबीच सिटीस्क्यान सेवा सञ्चालनको घोषणा गरेका हुन् ।

कर्णाली प्रदेश अस्पतालको सिटी स्क्यान सेवा सञ्चालन गर्दै उपप्रधानमन्त्री यादवले कर्णालीको स्वास्थ्य बिकासका लागि प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाउने प्रतिबद्धता जनाए । ‘स्वास्थ्य अधिकार नागरिकको मौलिक अधिकार हो’ उनले भने, ‘हरेक नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन उसको अधिकार र राज्यको दायित्व हो ।’ नेपालका हरेक स्थानीय तहमा प्राथमिक स्वास्थ्य केनद्र र हरेक वडामा स्वास्थ्य चौकी स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताए । तत्काल १ हजार २ सय स्वास्थ्य चौकी र २ सय ५१ प्राथमिक स्वास्थ्य केन्द्रका स्थापना गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए ।


उपप्रधानमन्त्री यादवले सरकारले गरेको कर्मचारी समायोजन त्रुटीपूर्ण भएको बताए । समायोजनले स्वास्थ्य क्षेत्र झन् मारमा परेको उनले बताए । अस्पतालमा आवश्यक जनशक्ति प्रदेश सरकारले भर्ना गर्ने गरी केन्द्रले बाटो खोल्नु पर्ने उनको तर्क छ । ‘अब प्रदेश बलियो नभई संघीयता टिक्न नसक्ने भन्दै उनले संघीयताको स्थायित्वका लागि प्रदेश र स्थानीय तह बलियो बनाउनु पर्छ’ उनले भने । कर्णालीमा आवश्यक जनशक्ति पठाउन प्रतिबद्ध रहेको उनको भनाई छ ।

कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको राजधानीमा सुविधा सम्पन्न अस्पताल बनाउनका लागि सरकारले आवश्यक भौतिक संरचना र उपकरणहरुहरुको व्यवस्था गरेपनि कर्मचारी व्यवस्थापन संघीय सरकारले गर्नुपर्नेमा जोड दिए । ‘५० बेडको अस्पताललाई ३ सय बेडको बनाउने गरी कर्णाली सरकारले निर्णय र बजेट बनाइ सकेको छ’ उनले भने, ‘अब आवश्यक जनशक्तिको व्यवस्था संघीय सरकारले गरिदिनु पर्छ ।’  कर्मचारीको न्यायोचित व्यवस्थापनले मात्र कर्णालीमा जनशक्ति अभाव कम हुने भन्दै त्यसका लागि आवश्यक नीति बनाउन र कर्मचारी पठाउन सरकारसंग माग गरे ।

कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री यामलाल कँडेलले मुलुकको संरचना अनुसार परिवर्तित मानसिकताले मात्र कर्णालीको बिकास सम्भव भएको बताए । उनले राज्य संचालनमा कर्णालीको सहज पहुँच नभएकै कारण बिकासमा कर्णाली पछाडि परेको भन्दै कर्णाली प्रदेश अस्पतालको सेवा बिस्तार, प्रभावकारी संचालनका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराए । ‘प्रदेश अस्पताल कर्णाली सरकार र संसदको सर्वसम्मत परियोजना हो’ उनले भने, ‘यसको प्रभावकारिताका लागि संघीय सरकारको सहयोग चाहिन्छ ।’

अस्पतालमा जनशक्ति अभाव

कर्णाली प्रदेश अस्पतालले दरबन्दी अनुसारको जनशक्तिको अभाव झेल्नु परेको छ । १३ बर्ष अघि तत्कालिन अवस्थामा सुर्खेत जिल्ला अस्पतालमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालहुँदै प्रदेश अस्पतालको बोर्ड झुण्ड्याइए पनि जनशक्ति अभावमा अस्पतालको सेवा प्रवाह समेत प्रभावित हुँदै आएको छ । क्षेत्रीय अस्पताललाई गत कात्तिक १३ गते कर्णाली प्रदेश सरकारले अस्पताल आफ्नो मातहतमा ल्याएर प्रदेश अस्पताल नामाकरण गरेको छ ।

पिछडिएको मध्यपश्चिम क्षेत्रका बासिन्दालाई विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न २०६२ फागुन ७ गते स्थापना गरिएको क्षेत्रीय अस्पतालका लागि सरकारले ३० जना डाक्टरको दरबन्दी स्वीकृत गरेको छ । तर स्वीकृत दरबन्दी अनुसारको जनशक्ति भने अस्पतालमा कहिले पुगेको छैन । ३० जना बिशेषज्ञ डाक्टरको दरबन्दी रहेको कर्णाली प्रदेश अस्पतालमा हाल १० जना डाक्टरले सेवा दिईरहेका छन् ।११ जनामा पनि कर्मचारी समायोजन पछि ३ जना चिकित्सको भरमा सेवा दिनु परेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. डम्मर खड्काले बताए । ८८ जना कर्मचारीको दरबन्दी भएको प्रदेश अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ६६ जना मात्रै कार्यरत छन् ।

जनशक्ति अभाव भए पनि अस्पताल प्रभावकारी स्वास्थ्य सेवा दिइरहेको डा. खड्काले बताए । ‘हामीसंग जनशक्ति अभाव छ तर पनि उपलब्ध जनशक्तिबाटै पनि प्रभावकारी सेवाका लागि लागि परेका छौ’ उनले भने । त्यसको भार चिकित्सकलाई हुने र आवश्यकता आनुसार विरामीसंग सोधपुछ र सल्लाह लिन पनि समस्या हुने उनले बताए । विभिन्न स्रोत र साधनको अभावकाबीचमा पनि अस्पताललाई देशकै नमूना अस्पताल बनाउने अभियानमा आफुहरु लागि परेको डा. खड्काको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!