गाउँपालिका राष्ट्रिय महासंघद्वारा कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण

Posted on: 10 Sep, 2019

शंकर के सी | भदौ २४, सल्यान | गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश कार्यसमितीले संघिय र प्रदेश सरकारसंग सरोकार राख्ने विषयमा छलफल गरेर दुबै सरकारलाइ ध्यानाकर्षण गराएको छ । प्रदेश सरकारले सम्बन्धीत स्थानिय तहहरुसंग समन्वय नगरेर योजनाहरु छनौट गरेको भन्दै महासंघले योजना कार्यान्वयन गर्न उपभोक्ताहरु प्रदेश राजधानी धाउनुपर्ने बाध्यात्मक अवस्थाले सरकारकै कार्यसम्पादनमा प्रश्न उठेको जनाएको छ ।

सोमबार विरेन्द्र नगर सुर्खेतमा बसेको बैठकले आयोजना तथा कार्यक्रम छनौट गर्दा स्थानीय सरकारसंग दोहोरोपना नहुने गरी सम्बन्धीत स्थानीय तहसंगको समन्वयमा छनौट गर्न  र स्थानीय तहबाटै कार्यान्वयन हुने ब्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

यस्तै स्थानीय सरकार संग प्रत्यक्ष सरोकार राख्ने प्रदेश कानुनका विधेयकहरुमा महासंघका प्रतिनिधीहरुको समेत सहभागीतामा छलफल गर्ने ब्यवस्था मिलाउन पनि प्रदेश सांसद् र कर्णाली सरकारसंग बैठकले आग्रह गरेको गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले जनाए । प्रदेश र स्थानीय सरकारको आयोजना तथा कार्यक्रमको आकार एवम् बजेट उस्तै भएको भन्दै ठूला योजनामा मात्रै श्रोत विनियोजन गर्न आग्रह गरेको छ ।

बैठकले समपुरक अनुदानको वितरण सम्बन्धी कार्यविधिमा साझेदारीको अनुपात र परियोजनाको कुल लागतको सिलिङलाई ब्यवहारीक हुनेगरी पुनरावलोकन गर्न भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरिएको अध्यक्ष सेनले जनाए । चालु आर्थिक वर्षका लागी प्रदेश सरकारले तय गरेको वार्षिक योजनाको पुस्तीका छिटो सार्वजनीक गर्न पनि अनुरोध गरेको छ ।

यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन तथा कर्णाली प्रदेशमा प्राकृतिक विपत्तीमा ज्यान गुमाएका बसैप्रति श्रद्धान्जली ब्यक्त गर्दै महासंघको बैठकले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!