कोभिड–१९: जोखिमका विरुद्ध द्रत काम

Posted on: 23 Mar, 2020

चैत १०, सुर्खेत | कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोभिड–१९ (कोरोना भाइरस)  को सम्भावित जोखिमका विरुद्ध  प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभएको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी संयोजकत्वको अनुगमन समिति तथा मन्त्री रावल संयोजकत्वको कोभिड–१९ प्रतिकार्य उच्चस्तरीय समितिको बैठकले आइतबार कर्णाली प्रदेशका १० जिल्लाका नागरिकको स्वास्थ्य सुरक्षार्थ  निगरानी कक्ष (क्वारेन्टाइन)  र आइसोलेसनको आवश्यक व्यवस्था मिलाउने तयारी थालेको छ । प्रदेशका ७९ स्थानीय तह र ७२९ वडामा गठित समितिले भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिलाई सार्वजनिक ठाउँमा क्वारेन्टाइन निर्माण गरी १४ दिनसम्म त्यसमा राख्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको मन्त्री रावलले जानकारी दिनुभयो । 

“सुर्खेतमा निर्माण गरिने क्वारेन्टाइनको लजिस्टिक व्यवस्थापनका लागि नेपाली सेनाका पृतनापति सरोजप्रताप राणाको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । पूर्वाधार मन्त्रालयका सचिवको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरेका छौँ । ‘कोभिड–१९’ विरुद्धको काम युद्धस्तरमा अघि बढेको छ”, उहाँले भन्नुभयो । सो उच्चस्तरीय समितिको बैठकले सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्यसम्बद्ध विभिन्न उपकरण, औषधि तथा जनशक्ति व्यवस्थापन उपसमिति तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई शान्ति सुरक्षाका सबै व्यवस्थापकीय कार्यमा खटाउने निर्णय गरेको छ । 

यस्तै वीरेन्द्रनगरको खुलामञ्चमा ४०० क्वारेन्टाइन कक्ष निर्माण कार्य थालिएको छ । आइतबारसम्म १०० भन्दा बढी क्वारेन्टाइन निर्माण गरिएको उत्तरपश्चिम पृतना सुर्खेतले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री भण्डारी र सामाजिक विकासमन्त्री रावलले  क्वारेन्टाइन निर्माणस्थलमा पुगेर अनुगमनसमेत गर्नुभयो । मुख्यमन्त्री शाहीले सेनाले देखाएको सक्रियता र शीघ्रताप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले ६०० क्वारेन्टाइन मध्यपश्चिम विश्वविद्यालयमा निर्माण गरी सरकारलाई सहयोग पुर्याउन सो अवसरमा सेनालाई निर्देशन दिनुभयो । 

उत्तरपश्चिम पृतनाका पृतनापति राणाले क्वारेन्टाइन निर्माण कार्य  तीव्र गतिमा भइरहेको बताउनुभयो । विद्युत्को सहज पहँुच, खानेपानीको उपलब्धता, नजिकै बस्ती नभएकाले तत्कालका लागि क्वारेन्टाइन खुलामञ्चमा बनाउन लागिएको हो । कोरोना भाइरसबाट प्रभावित भए नभएको पत्ता लगाउन भारतलगायत अन्य देशबाट फर्कनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!