स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएपछि अस्पतालद्वारा आकस्मिकबाहेकका सेवा बन्द

Posted on: 26 Jun, 2020

असार १२, सुर्खेत | प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । 

अस्पतालले बिहीबार साँझ विज्ञप्तिमार्फत सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ । अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा विशेषज्ञ चिकित्सकसहित प्रयोगशाला, एक्सरे फाँटमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । सङ्क्रमित स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । 

यसैबीच, आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको छ । दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बिहीबार पिसिआर परीक्षण गरिएको थियो । जेठ ११ गते भारतबाट आएका उनलाई १४ दिन क्वारेन्टिनको बसाइँपछि आरडिटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । 

दुल्लुका नगर प्रमुख घनश्याम भण्डारीले शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेको बताउनुभयो । यसअघि भारतबाट फर्किएकी सुर्खेत सिम्ता गाउँपालिकाकी एक युवतीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!