धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on: 14 Aug, 2017


साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो । 

उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षापछि छेउको जलाद नहरमा आएको बाढीले आइतबार मेस्तर, मुसहर, पासवानलगायतको संयुक्त दलित बस्ती जलमग्न भई एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । 

राहत बाँड्दै धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्षसमेत रहनुभएका कट्टेलले विपद्को समयमा सहयोगी मनले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताउनुभयो । 

धुर्मुसले आइतबार महोत्तरीको भंगहामा ३७ परिवार डुबान पीडितका लागि राहत वितरण गर्नुभएको थियो । आज जनकपुरको धराजभन टोलमा जलाद नहरले डुबानमा पर्नुभएका ८८ परिवारका लागि तत्काल खान मिल्ने खाद्यान्न, औषधि, पानीलगायतका राहतका प्याकेज प्रदान गर्नुभयोे । 


त्यसैगरी जनकपुर उद्योग वाणिज्य संघद्वारा जानकीनगर स्कुलस्थित ५० जना घरधुरी बाढीपीडितलाई राहत खाद्यान्न सामग्री वितरण गरिएको छ । 

खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, नुन, तेल, सोयाबिन, मसालालगायतको सामग्री रहेको छ । त्यस्तै मिल्सएरिया धर्मसंस्थामा बस्दै आएका बाढीपीडितलाई खानानास्ता समेतको व्यवस्था गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!