हजार घरमा बत्ती बाल्ने तयारी

Posted on: 11 Sep, 2020

भदौ २६, तनहुँ | तनहुँको घिरिङ गाउँपालिकाको करिब एक हजार घरमा बत्ती बाल्ने तयारी गरिएको छ । विद्युत्को सुविधा नपुगेका घिरिङका गाउँमा विद्युतीकरण गर्ने तयारीसहित काम अगाडि बढाइएको छ ।

गाउँपालिका–१ का पुट्टार, अत्रौली, बैदी, भन्टार, कटहरे र हात्तीडाँडा, २ का गजरकोट, काठेकोट, ४ को जिताकोट, गड्यौलीटारको हजार घरमा विद्युतीकरण बाँकी रहेको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभयो । विद्युतीकरण अन्तर्गत कतै खम्बा गाडिएको र कतै तार विस्तारको काम भइरहेको छ । “दशैं अगाडि नै बत्ती बाल्न सकिन्छ कि भनेर काम तीव्र पारेका छौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाको रु ६१ लाखको बजेटबाट सो काम भइरहेको छ ।

गाउँपालिका–४ नयाँटार, गड्यौलीटार, जिताकोट, भाटडाँडा, लोहडाँडा र गलकोटमा मिटर बक्स ल्याउने तयारी गरिएको छ । अत्रौली, कटहरे र भन्टारमा पनि विद्युतीकरणको काम भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्ज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताउनुभयो । जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछि करिब एक हजार ४०० घरमा बत्ती बालिसकिएको उहाँले जानकारी दिनुभयो ।  विद्युतीकरणका लागि गत वर्ष रु एक करोड विनियोजन गरिएको थियो भने यस वर्ष कोभिड–१९ का कारण रु १५ लाख विनियोजन गरिएको छ । “तर विद्युतीकरणका लागि पैसा अपुग भयो भने भइपरी खर्चबाट भए पनि मिलाउँछौँ”, उहाँले भन्नुभयो । सो कार्यमा तनहुँ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणले सहयोग गरेको छन् ।  

बत्ती बल्न बाँकी घरमा आगामी असोज– कात्तिकभित्रै बत्ती बल्ने बताइएको छ । “आवश्यक ट्रान्सफर्मर ल्याइसकेका छौं, खम्बा गाड्ने, तार तान्नेलगायतका काम चलिरहेको छ”, उहाँले भन्नुभयो । 

उक्त गाउँपालिका–२ माहोरकोटमा पहिलो पटक बत्ती बलेको छ । उक्त ठाउँका ५९ घरमा बत्ती बलेको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पुट्टार र बैदीका केही भागमा समेत विद्युतीकरण सम्पन्न भएको छ । 

पुट्टारका तारा खनालले धेरै वर्षको प्रतीक्षापछि बल्ल बिजुली बलेको बताउनुभयो । पुट्टारमा दुई चरणमा गरेर घरघरमा बिजुली पुगेको छ । साविक गजरकोट वडा नं ४ मा पाँच महिना अगाडि र अर्को ठाउँमा १५–२० दिन अगाडि बत्ती बलेको छ । “बिजुलीको सुविधा नहुँदा सोलारको प्रयोग गर्दै आएका थियौँ, अब त बिजुली नै बाल्न थालिसकेको छांै”, खनालले भन्नुभयो ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!