तनहुँ वितरण केन्द्रमा रु छ करोड बढी बक्यौता

Posted on: 05 Aug, 2021

साउन २१, तनहुँ (रासस)। तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म रु छ करोड छ लाख ३९ हजार बक्यौता रहेको छ । कोभिड–१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ ।

विगतका वर्षमा सरदर रु तीन करोड बक्यौता हुने गरे पनि गत आवमा दुई गुणा बढीले रकम बक्यौता हुन पुगेको कार्यालयका सूचना अधिकारी विष्णुराज लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार ९३.८ प्रतिशत रकम सङ्कलन गर्न सकिएको छ भने ६.२ प्रतिशत सङ्कलन गर्न नसकिएको हो । सरकारले बक्यौता हुने ग्राहकको लाइन काट्न निर्देशन दिए पनि कोभिड–१९ का कारण फिल्डमा जान सक्ने अवस्था नरहेकाले लाइन नकाटिएको उहाँले बताउनुभयो ।

यहाँ ४० हजार ४८५ विद्युत्का ग्राहक छन् । चार करोड ५२ लाख दुई हजार ५२८ युनिट विद्युत् बिक्री गर्दा रु ३९ करोड ७६ लाख ४० हजार ९८४ राजश्व सङ्कलन गरिएको छ । प्रणाली व्यवस्थित गर्न सकिए करेन्टको कुनै अभाव नरहेको सो कार्यालयले जनाएको छ । जिल्लामा १०.५४ प्रतिशत विद्युत् चुहावट हुने गरेको बताइएको छ । 

यहाँ विद्युत् चोरीका कुनै घटना नभए पनि प्राधिकरणले प्रणाली सुदृढीकरण गर्न सके चुहावटमा कमी ल्याउन सकिने कार्यालय प्रमुख इञ्जीनियर सोवितबहादुर क्षेत्रीले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा बढी तनहुँ जलविद्युत् आयोजनाले विद्युत् खपत गर्ने गरेको छ । आयोजनाले एक महिनामै रु २७ लाखदेखि ४६ लाखसम्म विद्युत् महसुल बुझाउने गरेको कार्यालय प्रमुख क्षेत्रीले बताउनुभयो ।

विद्युत् चुहावटलाई न्यूनीकरण गर्न कार्यालयका तर्फबाट पनि पहलकदमी थालिएको छ । जिल्लामा आव २०७६÷७७ मा ९५ प्रतिशत विद्युतीकरण भएकामा आव २०७७÷७८ को असारमसान्तसम्म ९७ प्रतिशत जनशक्तिमा विद्युत् पहुँच पुगेको छ । जिल्लाको कछार भनेर चिनिने चितवनसँग जोडिएको देवघाट गाउँपालिकाका केही क्षेत्रमा विद्युत् जडानका कार्य बाँकी रहेको कार्यालय प्रमुख क्षेत्रीले बताउनुभयो । जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका आयोजनाले काम गरिरहेकाले छिट्टै जिल्ला पूर्ण विद्युतीकरण हुनेमा विश्वस्त रहेको सो कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!