१२ पुल शिलान्यास, सम्पन्न शून्य

Posted on: 15 Aug, 2021

कृष्ण न्यौपाने ।  साउन ३१, दमौली (रासस)। आर्थिक वर्ष ०७७/७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो । कोरोना कहर र निषेधाज्ञाका कारण समयमै पुल सम्पन्न नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

विगतमा प्रदेश सरकारका लगानीमा जिल्लामा पक्की पुल शिलान्यासको लहर चलेको थियो । विभिन्न नदी तथा खोलामा ती सबै पक्की पुल निर्माणाधीन छ । तीमध्ये तीन आगामी असोजसम्म सम्पन्न गर्नुपर्ने म्याद छ । बाँकी पुलको म्याद आगामी आव रहेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । “कोरोना कहरका कारण समयमै सकिनुपर्ने पुलको काम सम्पन्न हुन सकेन”, उहाँले भन्नुभयो । 

कोरोना कहरका बाबजुद निर्माण कम्पनीले काम पनि गरेका थिए । लक्ष्यअनुसार भने पूरा नभएको उहाँ बताउनुहुन्छ । निर्माणाधीन सबै पुलको कार्य प्रगति सन्तोषजनक देखिएको उहाँको भनाइ छ । कोरोना कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारको निर्णय अनुसार छ महिना म्याद थप गरिनेछ । “म्याद सकिएका पुल छ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन गरिएको छ”, उहाँले भन्नुभयो ।

गत वर्ष शिलान्यास भएका दुई वटा पुलको काम भने अन्तिम चरणमा पुगेको छ । रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको हो । “दुवै पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ, अब स्ल्याब राख्ने काम मात्र बाँकी छ”, उहाँले भन्नुभयो ।

निर्माणाधीन ती पुललाई रु २९ करोड एक लाख २९ हजार भुक्तानी भइसकेको कार्यालयले जनाएको छ । यसआवमा प्रदेश सरकारले ती पुललाई रु २६ करोड ४० लाख विनियोजन गरेको छ । सबै पुल सम्पन्न गर्न रु ८९ करोड ६६ लाख ६१ हजार २४० आवश्यक पर्दछ ।

चालू वर्षमा पनि प्रदेश सरकाले जिल्लाका १४ मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ । ती पुललाई तीन करोड ३० लाख बजेट विनियोजन भएको छ । बजेट विनियोजन भए पनि पुलको उपयोगिता अध्ययन गरी माटो परीक्षण भएपछि विस्तृ आयोजना प्रतिवेदन (डिपिआर) तयार भई स्रोत सुनिश्चितता हुँदा बल्ल काम शुरु गरिने कार्यालय प्रमुख ढुङ्गानाले बताउनुभयो । 

वर्षामा सडक सञ्जालबाट सम्पर्क विच्छेद हुने जरेवरका बासिन्दालाई यस वर्षामा पक्की मोटरेवल पुलबाट खोला तर्न पाउने आशा थियो । भिमाद नगरपालिका–८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेबर जोड्ने गरी बरखोलामा शिलान्यास गरेको पुल गत असार २२ मा सम्पन्न हुनुपर्ने थियो । मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेञ्चर पोखराले ठेक्का पाएको पुलको चार वटा पिल्लर ठडिनेबाहेक काम भएको छैन । 

हिउँदमा कुलो जत्रै भएर बग्ने बुडुवा खोला यतिबेला तर्न नसक्ने अवस्थामा छ । यहाँका स्थानीवासी घाँस दाउरा र मेलापात गर्न बन्दै गरेको अधुरो पुलबाट जोखिम मोलेर तर्न बाध्य छन् ।  बुडुवा खोला तरेर लोकतान्त्रिक मोटरमार्गमा सवारी गुडाउने चालकलाई पनि सास्ती छ । 

वर्षौं देखि मोटरेवल पुल चाहियो भन्दै आएका स्थानीयवासीको मागलाई सुनवाइ गर्दै प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास भएको थियो । गणेश कुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत असार २७ मा सकिएको छ ।

पुलको काम सक्न १५ प्रतिशत बढी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताउनुभयो । “यतिबेला पुल बनाएर सकिन्थ्यो होला । बाढी आएर काम रोकियो”, उहाँले भन्नुभयो, “पुल र सडकका बीचमा फिल्डिङ गर्ने काम बाँकी छ ।”

ऋषिङ गाउँपालिका–४ मधुवन र पाँच रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेवल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति सकिएको छ । ठेक्का सम्झौताअनुसार गत असार २५ गते पुल निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । ज्वाला खोलासहित शालिकराम करिडोरमा मात्र चार वटा पुल शिलान्यास गरिएको थियो । हालसम्म एउटा पनि सम्पन्न भएको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!