तीन महिनापछी तनहुँमा प्रजिअ

Posted on: 17 Apr, 2018

बैशाख ४, दमौली (रासस) | तनहुँ जिल्लामा प्रमुख जिल्ला अधिकारीविहीन भएको ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी सोमबार दमौली आइपुग्नुभएको छ । 

गृह मन्त्रालयबाट भरतकुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ आइपुग्नु भएको छ । उहाँले सोमबारदेखि नै हाजिर गरी कार्यभार सम्हाल्नु भएको छ । 

तत्कालिन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँ गएपछि लामो समयदेखि तनहुँ प्रजिअविहीन हुँदै आएको थियो । प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध, हातहतियार खरखनाजा, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने काम प्रभावित हुँदै आएको थियो । प्रजिअ शर्माले तनहुँको शान्ति सुव्यवस्था, सुशासन र समृद्धिमा जोड दिने बताउनुभयो । 

‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको चाहना भएकाले त्यसैलाई पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने प्रजिअ शर्माले बताउनुभयो । तनहुँवासीको साथ र सहयोग पाए जिल्लालाई शान्ति र समृद्धिमा अगाडि बढाउन आफू सफल हुने दाबीसमेत उहाँले गर्नुभएको छ । यसअघि निमित्तको हैसियतमा सहायक प्रजिअ तुलसीराम पौडेलले दैनिक कार्यभार भने सम्हाल्दै आउनुभएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!