तनहुँको चुँदीरम्घामा रामायण घर बन्दै

Posted on: 08 Jul, 2018

असार २४, दमौली | राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका– ४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोडको लागतमा सो घर निर्माण हुन लागेको हो । भानु जन्मस्थल विकास समितिको सक्रियतामा निर्माण कार्य भइरहेको हो । हालसम्म ८० प्रतिशत निर्माण कार्य पूरा भएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताउनुभयो । 

निर्देशक रानाभाटका अनुसार दुई ढलानको सो भवन साहित्यिक कार्यक्रम गर्ने सभाहल, भवनको भित्तामा रामायणमा भएका श्लोक र रामायणसँग सम्बन्धित तस्वीर कुँद्ने योजना बनाइएको छ । रामायण भवनको निर्माण हुनथालेपछि साहित्यिक पर्यटकको ओइरो लाग्ने गरेको छ । १० रोपनी क्षेत्रफलभित्र रामायण भवन, भानुगृह, आवास गृह, चमेना गृह, पुस्तकालय, शौचालय, पोखरीलगायतका संरचना निर्माण गर्ने गुरु योजना बनाइसकिएको समितिका अध्यक्ष श्रीभक्त आचार्यले बताउनुभयो । 

उहाँले रु १९ करोडको गुरुयोजना तयार गरिएको जानकारी दिनुभयो । चुँदीरम्घाबेँसीदेखि शिखर कटेरीसम्म पुग्ने करीब तीन किलोमिटर कच्ची मोटरमार्ग निर्माण गरिए पनि वर्षाका कारण हिलाम्मे हुँदा पर्यटकलाई आवतजावत गर्न समस्या पर्ने गरेको छ । सडक कालोपत्रका लागि सरकारसँग बजेट माग भइरहेको समितिका अध्यक्ष आचार्यले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!