६ महिना कतार बसेर फर्किएका कृष्णप्रसादको नेपालमै मासिक ६० हजार कमाई

Posted on: 10 Nov, 2018

कात्तिक २४, दमौली (रासस) | विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो । 

छ वर्ष नौ महीना कतार बस्नुभएका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आबद्ध हुनुभएको छ । गैरेले तरकारीखेती र पशुपालनबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । 

‘विदेशमा काम गर्दा जति दुःख गरियो त्यति दुःख त स्वदेशमै गरेपनि आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो,’ उहाँले भन्नुभयो, ‘अनि आफ्नै गाउँ आएर तरकारीखेती शुरु गरेँ ।’ तरकारीखेतीबाटै गैरेले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । 

तरकारीखेतीसँगै पशुपालनसमेत गर्नुभएका गैरेले भैँसीको दूध बिक्रीबाट वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुभयो । उहाँका अनुसार दैनिक २० माना दूध बिक्री हुने गरेको छ । तरकारी र दूध बिक्रीका लागि बजारको कुनै समस्या नरहेको उहाँले बताउनुभयो । 

युवा अभावमा धान काट्न समस्या 

तनहुँको व्यास नगरपालिका–८ रिस्तीका पुरुषोत्तम रेग्मी गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको प्रति चिन्तित हुनुहुन्छ । गाउँमा काम गर्ने युवा नहुँदा भनेको दिनमा धान काट्न नपाएको र खेतमै धान झरेर जाने समस्या रहेको उहाँ बताउनुहुन्छ । 

युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनु र गाउँमा अधिकांशको घरमा वृद्ध आमाबाबु मात्रै रहेका कारण धान काट्न समस्या भएको उहाँको भनाइ छ । 

सोही ठाउँकै रामप्रसाद मिश्रले समेत गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको गुनासो गर्नुभयो । “अधिकांश युवा वैदेशिक रोजगारका लागि विदेश र अध्ययनका लागि शहरबजार झरेपछि गाउँमा धान काट्न समस्या भएको हो”, उहाँले भन्नुभयो । 

धान रोपाइँको क्षेत्रफल घट्यो 

तनहुँमा बाह्र हजार दुई सय पचास हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइरहेको छ । तनहुँमा यस वर्ष करीब दुई हेक्टर क्षेत्रफलमा धान रोपाइँ घटेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । जिल्लामा कृषिकर्म गर्ने युवा जनशक्तिको अभाव, वैदेशिक रोजगारी तथा बसाइसराइजस्ता कारणले ग्रामीण क्षेत्रमा खेतीयोग्य जमीन बाँझिने क्रम बढ्दै गएको कार्यालयले जनाएको छ । 

तनहुँको तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेफाँटलगायतका क्षेत्रहरु धानखेतीका लागि उपयुक्त फाँटका रूपमा लिइन्छ । यहाँका कृषकले सावित्री, मकवानपुरे, रामपुर, हर्दिनाथ, मन्सुलीलगायतका उन्नत जातका बीउ प्रयोग गरी धानखेती गर्दै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!