तनहुँको ग्रामीण क्षेत्र भिरकोटका ३५० घरधुरीमा बत्ती बल्दै

Posted on: 02 Sep, 2019

भदौ १६, तनहुँ | तनहुँको ग्रामीण क्षेत्रको रुपमा परिचित रिसिङ गाउँपालिका–४ भिरकोटमा विद्युतीकरणका लागि काम शुरु भएको छ । टुकीको भरमा बस्न बाध्य स्थानीयवासीको घर उज्ज्यालो बनाउन गाउँपालिकाले पोल गाड्न र तार विस्तारका लागि काम शुरु गरेको हो ।

उक्त वडाको पालिङटार, राम्चे, सिरकोट, बरडाँडा, पिपलडाँडा, फरकस्वाँरा, कसुण्डे, डिहीगाउँका करीब ३५० घरधुरीमा विद्युत् विस्तारका लागि काम भइरहेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिनुभयो । वडाध्यक्ष रानाभाटका अनुसार पोल गाडेर तार विस्तार भएपछि ट्रान्सफर्मर र मिटर जडान गरिनेछ । 

उक्त ठाउँमा विद्युतीकरणका लागि गाउँपालिकाले गत आर्थिक वर्ष ०७५/७६ मा ४० लाख र चालू आर्थिक वर्ष ०७६/७७ का लागि रु ४० लाख बजेट विनियोजन गरेको छ । रु ८० लाखको लगानीमा दशैँ अगाडि नै बत्ती बाल्ने गरी काम शुरु गरिएको रानाभाटले जानकारी दिनुभयो । “दशैँ अगाडि नै झिलीमिली गाउँ बनाउने गरी कामलाई तीव्रता दिएका छौँ,” उहाँले भन्नुभयो, “पोल गाडेर तार विस्तार गर्ने बित्तिकै ट्रान्सफर्मर जडान गरेर प्रत्येक घर–घरमा बिजुली पुर्याउँछौँ ।”

साथै सिङ्गुवा, मधुवन र गुम्लेकमा पनि विद्युत विस्तारका लागि पोल गाड्ने काम भइरहेको छ । कूल एक हजार घरधुरी रहेको उक्त वडाको नारायणटार, हाडीटार, गुम्लेकलगायत हाल काम भइरहेको सहित गरी करीब ४३० घरधुरीमा बिजुली बल्न बाँकी रहेको छ । उक्त वडाको सबै घरधुरीमा चालू आर्थिक वर्षभित्रै बत्ती बाल्ने योजना छ ।

गुम्लेक ५२ घरधुरीमा भने केही दिनभित्रै बिजुली बाल्ने तयारी छ । उक्त ठाउँमा विद्युत् विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणको रु ३५ लाख र गाउँपालिकाको रु चार लाखको लगानीमा सम्पूर्ण कार्य पूरा भइसकेको छ । 

जिल्लाकै विकट क्षेत्रको रुपमा परिचित यस ठाउँमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै विद्युत् विस्तारको कामले खुशी छाएको पालिङटारका स्थानीयवासी कृष्ण रानाभाटले बताउनुभयो । “अहिलेसम्म टुकी र मैनबत्तीको सहारामा बस्दै आएका छौँ,” उहाँले भन्नुभयो, “अब छिट्टै बत्ती बाल्न पाउने भएका छौँ ।”

पचासी प्रतिशत घरधुरी बिजुलीको पहुँचमा

हालसम्म जिल्लाका ८५ प्रतिशत घरधुरीमा बिजुली विस्तार भइसकेको छ । करीब ७८ हजार घरधुरीमध्ये १५ प्रतिशत घरधुरीमा अझै पनि बिजुली पुग्न नसकेको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । 

वितरण केन्द्रले गत वर्ष आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । ११ केभीको ३२, ४४० भोल्ट (३ फेज) को ५.८, ४४० भोल्ट (२ फेज) को ७.८ र २०० भोल्ट (१ फेज)को २३ किमी लाइन विस्तार गरिएको छ । बिजुली विस्तारका लागि गत वर्ष रु तीन करोड बजेट खर्च भएको थियो । 

बाँकी १५ प्रतिशत घरधुरीमा अबको डेढ वर्षभित्र बिजुली विस्तार गर्ने योजना रहेको वितरण केन्द्रका प्रमुख शिव गोशलीले बताउनुभयो । गोशलीका अनुसार देवघाट गाउँपालिका, रिसिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ हजार घरधुरीमा बिजुली सुविधा पुग्न सकेको छैन ।

विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा ८ एमबीएको सबस्टेशन निर्माण गरिएको छ । उक्त सबस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दुरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्याइनेछ । साथै सोही सबस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीहरुमा बिजुली सेवा पुर्याइनेछ ।  

त्यसैगरी बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका¬–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिं मार्गका छेउछाउका बस्तीहरुमा विद्युतीकरण गरिनेछ । कार्यालयले आर्थिक वर्ष ०७५/७६ मा १७ ठाउँमा नयाँ ट्रान्सफर्मर थप गरेको छ । म्याग्देको मुलाबारी, ओटाङ्दी, व्यासको सुढे, बागभञ्ज्याङ, शीतलगुफा, रिसिङको नाजुङ, दुभुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, बन्दीपुरको तीनधारा जुनडाँडा, साराङघाट, ग्याजाटार, भानुको खहरे, भन्सार, आँबुखैरेनीको छापस्वाँरा र मिलनचोकमा ट्रान्सफर्मर थप भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!