डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध

Posted on: 20 Jul, 2020

कृष्ण न्यौपाने। साउन ५, दमौली। पहिराले तनहुँको डुम्रे–बेसीँशहर सडकखण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरा झरेपछि डुम्रे–वेशीशहर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको हो ।

भानु नगरपालिका–३ चाम्बासस्थित रिडिखोला नजिक खसेको पहिराले सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । निरन्तर वर्षा भएकाले पहिरा हटाउन केही समय लाग्ने जनाइएको छ । 

यस्तै वर्षाका कारण पहिरा गएपछि तनहुँको ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको छ । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको मुग्लिङ–कोत्रे सडखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् ।  ऋषिङ गाउँपालिकास्थित श्रृङ्गपथ अवरुद्ध भएको हो । श्रृङ्गपथको घुम्तीभिरमुनि पहिरा खसेर सडक अवरुद्ध बनेको स्थानीयवासी निर्मल थापाले जानकारी दिनुभयो । ऋषिङ गाउँपालिकाकै ऐरीचौतारा हुँदै राम्जाकोट जाने बाटो समेत पहिराका कारण अवरुद्ध भएको छ । निरन्तर वर्षा भइरहेकाले पहिरा हटाउन समय लाग्ने बताइएको छ । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–कोत्रे सडकखण्डमा भने कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ अभियान

विभिन्न अपराधमा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीविरुद्ध जिल्ला प्रहरी कार्यालयले विशेष अभियान चलाएको छ । हालैमात्र सरुवा भई आउनुभएका प्रहरी उपरिक्षक अरुण पौडेलले पत्रकार सम्मेलनका क्रममा फरार प्रतिवादी पक्राउ गर्नेतर्फ विशेष ध्यान हुने बताउनुभएको थियो । लगत्तै प्रहरीले धमाधम फरार प्रतिवादी पक्राउ गर्न थालेको छ ।

गत असार तेस्रो सातादेखि मात्रै जिल्लामा १० जना फरार प्रतिवादी पक्राउ परिसकेका छन् । सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसारलगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसैक्रममा आइतबार तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउपर्नेमा बहुविवाह, चोरी र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।

बहुविवाह मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर फरार रहेका एक प्रतिवादी १५ वर्षपछि पक्राउ परेका हुन् । पक्राउपर्नेमा म्याग्दे गाउँपालिका–२ बस्ने ३६ वर्षीया शशि थापा रहेको उहाँले बताउनुभयो ।  थापालाई आइतबार निजकै घरबाट पक्राउ गरिएको थियो । बहुविवाह मुद्दामा जिल्ला अदालतले उनलाई विसं २०६२ भदौ २५ गते एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका थापालाई आज नै अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार बाँकी रहेको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

यसैगरी लागुऔषध मुद्दामा फरार प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउपर्नेमा आँबुखैरेनी गाउँपालिका–२ ढकालटार बस्ने २२ वर्षीय सन्तोष गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङलाई जिल्ला अदालतले विसं २०६३ असोज ६ गते १० महिना २५ दिन कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको थियो । निजलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले आइतबार घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । गुरुङलाई पनि जिल्ला अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

त्यसैगरी प्रहरीले चोरी उद्योग मुद्दामा कैद भुक्तान गर्न एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा म्याग्दे गाउँपालिका–४ बस्ने ४५ वर्षीय मनबहादुर आले रहेका छन् । जामुनेस्थित बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा सुरक्षाकर्मीका रुपमा कार्यरत आलेले सहकारीको साँचो फोडेर चोरी गर्ने प्रयास गरेका थिए ।

चोरी उद्योग मुद्दामा तत्काल धरौटी राखी छुटेका आलेविरुद्ध जिल्ला अदालतले विसं २०७६ पुस २९ गते एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको थियो । तोकिएको कैदबाट ११ महिना ११ दिन कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाले पक्राउ परेका आलेलाई कैद भुक्तानका लागि कारागारा चलान गरिएको छ ।

यस्तै प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका म्याग्दे गाउँपालिका–२ बस्ने ५२ वर्षीय उदयराज खनाललाई २४ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालतको विसं २०५३ भदौ २४ गतेको फैसलाअनुसार खनाललाई सात दिन कैद फैसला भएको थियो । निज बाँकी रहेको कैद भुक्तान नगरी फरार रहेकाले घरबाटै पक्राउ गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै लागुऔषध मुद्दाका प्रतिवादी आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय युवराज गुरुङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका प्रतिवादीको खोजीकार्यमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!