झापुटार–चालिसे सडक अवरुद्ध

Posted on: 06 Aug, 2020

साउन २२, तनहुँ | तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै वडा नं ६ सम्म पुग्ने झापुटार–चालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ । गत असार २९ गते र त्यसपछि परेको वर्षापछि आएको पहिराले उक्त सडक अवरुद्ध भएको हो ।

पहिराले विभिन्न पाँच ठाउँमा ठूला–ठूला ढुङ्गा झरेको छ भने लेदो माटो जम्मा भएको ऋषिङ–४ का वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिनुभयो । ”झापुटारभन्दा थोरै माथि पक्की रहेको बाटो नजिकबाट पाँच वटा ठूला ठूला पहिरा झरेका छन्”, उहाँले भन्नुभयो, “कतिपय ठाउँमा त बाटोको निशाना नै नरहने गरी पहिरा झरेर समस्या भएको छ ।”

उहाँका अनुसार अधिकांश ठाउँको पहिरा हटाइसकिएको र अब एक ठाउँको मात्रै पहिरा हटाउन बाँकी छ । “झापुटारबाट ठूलो मेशिनको प्रयोग गरेर बाटो सफा गरिए पनि ठाउँ–ठाँउमा पानीको निकास मिलाउनुपर्ने भएकाले बाटो पुनःसञ्चालन गर्न समय लागेको हो”, उहाँले भन्नुभयो । ऋषिङ–२ डाँडाखुँदीको उकालोको पहिरा हटाएर एक÷दुई दिनमा नै चालिसेसम्मको बाटो सफा गरिने अध्यक्ष   रानाभाटले जानकारी दिनुभयो । 

तीन सातादेखि पहिराले सडक अवरुद्ध हुँदा सवारीमार्फत गाउँ जाने सर्वसाधारणलाई समस्या भएको छ तर पैदल हिँड्नका लागि भने कुनै समस्या छैन । “पैदल हिँड्नका लागि छोटो दूरीको बाटो छ, सवारी साधनमा जाने सर्वसाधारणलाई भने बाटो बन्द भएका कारण समस्या भएको छ”, उहाँले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!