गण्डकीमा दमौली अस्पताल सर्वाेत्कृष्ट

Posted on: 18 Jun, 2021

कृष्ण न्यौपाने, असार ४, दमौली (रासस) । दमौली अस्पताल गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये सर्वाेत्कृष्ट बन्न सफल भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङ्कनमा सो अस्पताल यस वर्ष प्रथम  भएको हो । 

मन्त्रालयले सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवाका आधार लगायत विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गर्ने गर्दछ । गतवर्ष सो अस्पतालले दोस्रो स्थान प्राप्त गरेको थियो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालको विभिन्न मापदण्डका मूल्याङ्कनमा ६१ प्रतिशत अङ्क हासिल गरी प्रथम हुन  सफल भएको जानकारी दिनुभयो ।

“कोभिडका कारण अस्पतालका नियमित सेवाहरु अवरुद्ध हुँदा प्रतिशत घटेको हो,  अस्पतालको मात्र नभइ सबै जिल्ला अस्पतालका अङ्क घटेका छन्,” उहाँले भन्नुभयो । 

कोभिड सङ्क्रमितको उपचारका लागि अस्पतालमा प्रसूति सेवा स्थगित गरिएको छ । बहिरङ्ग कक्षलाई पनि कोरोना कक्ष बनाइएको छ ।  अस्पतालले जिल्लामै पहिलो पटक थाइराइड सेवा शुरुआत गरिसकेको छ । अस्पतालले भेन्टिलेटर सहितको सघन उपचार कक्ष  सहित  दाँत र आँखा सेवा पनि  सञ्चालनमा  ल्याएको छ । 

ट्रमा सेन्टर बनाइने

प्रदेश सरकारले अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । प्रदेश सरकारद्वारा हालै जारी नयाँ बजेटमा जिल्ला अस्पताललाई ट्रमाका रुपमा स्तरोन्नति गर्ने उल्लेख छ । 

साथै अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने तयारी गरिँदै छ । यसका लागि विसं २०६२ मा नै अनुमति प्राप्त गरेको जनाइएको छ । विसं २०३४ स्वास्थ्यचौकी, विसं २०५५  प्राथमिक स्वास्थ्य केन्द्र र  विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो । –

यस बिषयमा तपाइको प्रतिक्रिया...!