बाम गठबन्धन चुनावी यात्रा मात्र नभई पार्टी एकताका लागि हो: गुरुङ

Posted on: 08 Nov, 2017

कात्तिक २२, तनहुँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य किरण गुरुङले नेकपा (माओवादी केन्द्र) सँगको तालमेल चुनावी यात्राका लागि मात्रै नभई पार्टी एकताका लागि भएको बताउनुभएको छ । 

प्रचार प्रसार समितिद्वारा आज दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ६० एमाले र ४० प्रतिशत माओवादी केन्द्रको सहमतिअनुरुप पार्टी एकता हुन लागेको स्पष्ट पार्नुभयो । 

तनहुँ क्षेत्र नं २ को प्रदेश ‘ख’ का उम्मेदवार रहुनभएका नेता गुरुङले मुलुक नयाँ परिवर्तनको संघारमा उभिएकोे र स्थिर सरकार नहुँदासम्म विकास निर्माण हुन नसक्ने भएकाले वाम गठबन्धन आवश्यक भएको बताउनुभयो । 

स्थानीय सरकारलाई सबल बनाउन, दक्ष र कुशल प्रशासन सयन्त्र निर्माण, आर्थिक विकास, गरिबी अन्त्य, आधारभूत शिक्षालाई निःशुल्क, शुद्ध पिउने पानीको व्यवस्था, सघन बस्ती, शहरी विकास, बिजुली तथा बालमजदुर, महिला हिंसा र बेचबिखनको अन्त्य गर्दै वृद्धाआश्रम र अपाङ्गताका लागि मैत्रीपूर्ण जिल्लाका रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

वाम गठबन्धनका तर्फबाट क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार केदार सिग्देलले पूर्वाधार, पर्यटन र कृषि क्षेत्रको विकासका लागि वाम गठबन्धनको आवश्यकता रहेको बताउँदै यो कसैका विरुद्ध नभई राष्ट्रिय राजनीतिको आवश्यकता बमोजिम भएको धारणा व्यक्त गर्नुभयो । 

प्रदेश नं २ प्रचार प्रसार समितिका संयोजक विष्णुभक्त सिग्देललको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!