लोकमानको विषयलाई लिएर अत्तालिहाल्नुपर्ने अवस्था छैन – नेता पौडेल

Posted on: 22 Oct, 2016

कात्तिक ६, दमौली ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयलाई लिएर अनावश्यक टिप्पणी गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । 


नेपाली काँग्रेस तनहुँद्वारा गाउँ र नगरका सभापतिहरुको एकदिने अन्तक्र्रियात्मक प्रशिक्षण कार्यक्रमको शनिबार दमौलीमा उद्घाटन गर्दै नेता पौडेलले यस विषयमा काँग्रेसको केन्द्रीय समितिभित्रै छलफल गरी एउटा निष्कर्ष निकाल्ने बताउनुभयो । 


संविधानको कार्यान्वयन र तिनवटै तहको चुनावमा अगाडि बढ्नुपर्ने बेला एउटा व्यक्तिको विषयलाई लिएर सर्बत्र बहसको विषय बनाइएको भन्दै नेता पौडेलले चिन्तासमेत व्यक्त गर्नुभयो । 


स्थानीय तह पुनःसंरचना आयोगले उपयुक्त सङ्ख्या निर्धारण गर्न नसकेको भन्दै पछिल्लोपटकको सङ्ख्याले पनि विवाद ल्याउने दाबी उहाँले गर्नुभयो ।  मधेसी मोर्चाले राखेको जायज माग सम्बोधन गरी संविधानलाई कार्यान्वयनतर्फ अगाडि लैजान सबै दलहरु गम्भीर भएर लाग्नुपर्ने बेला आएको पौडेलले बताउनुभयो । 


सांसद धु्रव वाग्लेले २०७४ को माघ ७ गतेभित्र तीनवटै तहको चुनाव नभए मुलुक गम्भीर सङ्कटमा फस्ने बताउनुभयो । 


नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, काँग्रेस क्षेत्र नं १, २ र ३ का सभापति उदयराज गौली, राजेन्द्रकृष्ण श्रेष्ठ, किसान गुरुङ, काँग्रेस नेता जितप्रकाश आले, जिल्ला उपसभापति ताराराज राना, काँग्रेस नेत्री आशा थापालगायतकाले मुलुकभित्र देखिएका समस्या समाधान गर्न काँग्रेसले पहल थाल्नुपर्ने बताउनुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!