बढी भाडा लिनेलाई जरिवाना, डुम्रे बजारको फुटपाथ हटाइयो

Posted on: 24 Oct, 2018

बढी भाडा लिनेलाई जरिवाना, डुम्रे बजारको फुटपाथ हटाइयो 

कात्तिक ७, दमौली (रासस) | चाडपर्वको मौका छोपी बढी भाडा असुल्ने सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जरिवाना गरेको छ । 

पोखराबाट काठमाडौँ जाँदै गरेको ना४ख ९५१३ नंको बसले यात्रुसँग बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले उक्त सवारीलाई जरिवाना गर्दै बढी भाडा यात्रुलाई फिर्ता गराएको हो । 

शुभ अधिकारी ट्राभल्सले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिँदै अर्कै बसमा यात्रु राखेको पाइएपछि कारवाही गरिएको ट्राफिक इञ्चार्ज कृष्ण क्षेत्रीले बताउनुभयो । पोखरादेखि काठमाडौँसम्मको भाडा रु ५०० भए पनि यात्रुसँग रु ६०० र रु ७०० सम्म भाडा असुलेको पाइएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार १५ जना यात्रुको बढी भाडा फिर्ता गराइएको छ । साथै उक्त बसलाई बढी भाडा लिएको आरोपमा रु एक हजार ५०० जरिवाना गराइएको छ । 

डुम्रे बजारको फुटपाथ हटाइयो 

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा लामो समयदेखि सञ्चालन हुँदै आएका फुटपाथ पसल गाउँपालिकाले हटाएको छ । 

फुटपाथले यातायात आवागमन र पैदलयात्रुलाई असहज बनाएको गुनासा आएपछि गाउँपालिकाले बल प्रयोग गरेर फुटपाथ हटाएको हो । 

फुटपाथ व्यवसायीले सडक छेउको पेटीमा फलफूल, किराना र तरकारी पसल राख्ने गरेका थिए । सार्वजनिक स्थानमा राखिएका ठेलालगायतका व्यापारिक सामग्री हटाउन गाउँपालिकाले पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि बल प्रयोग गरेर हटाउनुपरेको गाउँपालिका बजार व्यवस्थापक काशीनाथ भट्टराईले जानकारी दिनुभयो । 

फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न गाउँपालिकाले डुम्रे भन्सार नगर विकास समितिको आर्थिक सहयोगमा डुम्रे बजारको उत्तरपट्टि व्यापारिक सटर निर्माण गरिरहेको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!