लाइन काटेर रु २३ लाख असुली

Posted on: 09 Nov, 2018

कात्तिक २३, दमौली (रासस) | नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काटनुका साथै रु २३ लाख १४ हजार ७०८ असुल गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विद्युत् महशुल नबुझाउने २३३ ग्राहकको लाइन काटेर उक्त रकम असुल गरिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । 

नेपाल विद्युत् प्राधिकरण विद्युत महशुल सङ्कलन विनियमावली २०७३ को दफा ८ अनुसार मिटर रिडिङ गरेको २३ औं दिनदेखि ३० औं दिनसम्म विद्युत् महशुल बुझाएमा पाँच प्रतिशत, ३१ औं दिनदेखि ४० औं दिनसम्म १० प्रतिशत, ४१ औं दिनदेखि माथि विद्युत् महशुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्नेछ । यस्तै विनियमावलीको दफा १० अनुसार मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्युत् महशुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटन सकिने व्यवस्था छ । 

बिग्रिएका मिटर बदली अभियान 

उक्त केन्द्रले लामो समयदेखि बिग्रेका मिटर बदली गर्ने अभियान चलाएको छ । हालसम्म यस्ता बिग्रेका करीब २५० भन्दा बढी ग्राहकको मिटर बदलिएको र यसबाट नियमित महशुल सङ्कलन पनि वृद्घि भएको प्रमुख गोशलीले बताउनुभयो । चालु आव २०७५/७६ मा यस्ता एक हजार थान मिटर बदली गर्ने उक्त केन्द्रको योजना छ । 

बेकरी पसलमा आगलागी 

विद्युत् चुहिएर आगलागी हुँदा तनहुँको दमौलीमा बिहीबार राति एक बेकरी पसलमा क्षति पुगेको छ । आगलागीबाट तनहुँको व्यास नगरपालिका–२ स्थित ग्याथु बेकरी एण्ड पेष्टी पसलमा क्षति पुगेको हो । 

बन्द रहेको पसलमा राति ८ बजे आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको केक, फ्रिज र सजावटका सामान पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । व्यास नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!