भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

Posted on: 07 Mar, 2019

फागुन २३, दमौली (रासस) | तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन् । विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन् । 

सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक प्रेम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा कक्षा ६, ७, ८, ९ र १० मा अध्ययन गर्ने विद्यार्थी भाइरल ज्वरोबाट पीडित भएका हुन् । सबैभन्दा बढी कक्षा १० मा अध्ययनरत १५ विद्यार्थी भाइरल ज्वरोबाट बिरामी परेका छन् । 

त्यस्तै कक्षा ९ मा अध्ययन गर्ने सात र ६, ७ र ८ का समेत विद्यार्थी ज्वरोबाट पीडित भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै कक्षाका गरी ५० भन्दा बढी विद्यार्थीलाई यो समस्या देखिएको छ ।” 

उहाँका अनुसार बुधबार पनि कक्षा ४ र ५ का दुई÷तीन विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । कक्षा १० का बिरामी हुने सबै विद्यार्थी विद्यालयकै होस्टेलमा बस्ने विद्यार्थी हुन् । होस्टेलमा बस्ने विद्यार्थीमा एउटालाई ज्वरो आएपछि अर्को विद्यार्थीलाई पनि सोही समस्या देखिएको थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा विद्यार्थीबाट अरु विद्यार्थीमा ज्वरो फैलिएको हुन सक्छ ।”

उहाँका अनुसार बिरामी भएका सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गराइएको छ । सोही वडामा रहेको घिरिङ स्वास्थ्यचौकी र स्थानीय मेडिकलमा बिरामीको उपचार गराइएको छ । बिरामी भएका सबै विद्यार्थीलाई परिवारको रेखदेखमा जिम्मा लगाई उपचार भइरहेको विद्यालयले जनाएको छ । 

घिरिङ स्वास्थ्यचौकीका स्टाफ नर्स प्रतिमा अधिकारीले विद्यार्थीमा देखिएको समस्या भाइरल ज्वरो र इन्फ्लुएन्जा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्तो समस्या देखिएका विद्यार्थीलाई स्वास्थ्यचौकीबाटै उपचार सेवा दिएका छौँ ।” 

उहाँका अनुसार मङ्गलबार ४० विद्यार्थीलाई स्वास्थ्यचौकीबाट उपचार गरिएको थियो । हालसम्म स्वास्थ्यचौकीमा भएका औषधीले नै विद्यार्थीको उपचार भइरहेको जानकारी दिँदै उहाँले औषधी अपुग भए गाउँपालिकाको स्वास्थ्य शाखासँग माग गर्ने तयारी भएको बताउनुभयो । विद्यार्थीमा यस्तो समस्या भइरहे विद्यालयमै पुगेर उपचार सेवा प्रदान गरिने अधिकारीले बताउनुभयो । 

फरार प्रतिवादी पक्राउ 

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–४ बाघभञ्ज्याङका ३२ वर्षीय सुकबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

विसं २०६८ साउन ९ गते सोही ठाउँ बस्ने रामबहादुर परियारको हत्यामा संलग्न रहेको अभियोगमा फरार रहेका परियारलाई बुधबार दिउँसो उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

सोही ठाउँ बस्ने भारु भन्ने भारती परियारको योजनामा सुकबहादुर परियार र मङ्गलबहादुर दमैले दुलेगौँडा र ढोरफिर्दी जोड्ने सेती नदीको पुलबाट धकेली रामबहादुरको हत्या गरेको अभियोगमा परियार प्रहरीको फरार सूचीमा थिए । 

पक्राउ परेका निजलाई बुधबार नै तनहुँ जिल्ला अदालतमा कारवाहीको लागि पेश गरिएको प्रहरीले जनाएको छ । सोही वारदातमा संलग्न रहेका प्रतिवादी भारु भन्ने भारती परियार र मङ्गलबहादुर दमै माघ २४ गते तनहुँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गइसकेका छन् । 

विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गल र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकीको दुलेगौँडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । 

लागुऔषधसहित एक पक्राउ 

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ जैमिनी नगरपालिका–८ का १८ वर्षीय रमेश पुन रहेको प्रहरीले जनाएको छ । 

आँबुखैरेनीचोकमा शङ्कास्पदरूपमा हिँडेका पुनको साथबाट प्रहरीले फेनरागन ५४, डाइजेपाम ५४ र नुफिन ५४ थान गरी १६२ थान लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका निजविरुद्ध बुधबार तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!