कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on: 07 Mar, 2019

फागुन २३, तनहुँ | कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–४ बाघभञ्ज्याङका ३२ वर्षीय सुकबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

विसं २०६८ साउन ९ गते सोही ठाउँ बस्ने रामबहादुर परियारको हत्यामा संलग्न रहेको अभियोगमा फरार रहेका परियारलाई बुधबार दिउँसो उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

सोही ठाउँ बस्ने भारु भन्ने भारती परियारको योजनामा सुकबहादुर परियार र मङ्गलबहादुर दमैले दुलेगौँडा र ढोरफिर्दी जोड्ने सेती नदीको पुलबाट धकेली रामबहादुरको हत्या गरेको अभियोगमा परियार प्रहरीको फरार सूचीमा थिए । 

पक्राउ परेका निजलाई बुधबार नै तनहुँ जिल्ला अदालतमा कारवाहीको लागि पेश गरिएको प्रहरीले जनाएको छ । सोही वारदातमा संलग्न रहेका प्रतिवादी भारु भन्ने भारती परियार र मङ्गलबहादुर दमै माघ २४ गते तनहुँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गइसकेका छन् । 

विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गल र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकीको दुलेगौँडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!