जातीय भेदभाव गरेको आरोपमा तनहुँबाट २ जना पक्राउ

Posted on: 22 Mar, 2019

चैत ८, दमौली | जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–३ माझकोटका चेतबहादुर मल्ल र गीता पौडेल रहेका छन् । 

गत फागुन ३० गते सोही ठाउँमा भएको विवाह भोजमा जातीय भेदभाव गरेको आरोपमा प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो । उनीहरुले विवाहमा खाना खाने समयमा भान्सामा छिरेको भन्दै भिमाद नगरपालिका–६ का सुकबहादुर परियारलाई दुव्र्यवहार गरेका थिए । टाढै बसेर खानुपर्ने भन्दै भान्सामा पुगिसकेको अवस्थामा जातीय भेदभाव गरेको पीडितले बताए । 

पीडक दुवैविरुद्ध जातीय भेदभाव तथा छुवाछूत कसुरमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिनुभयो । आफूमाथि विभेद गरिएको भन्दै परियारले दलित समन्वय समिति भिमाद नगरपालिकामा जानकारी गराएपछि समितिले पीडकलाई कानूनबमोजिम कारवाहीका लागि पहल गरेको समितिका अध्यक्ष बाबुराम सुनारले बताउनुभयो । भिमाद नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका सुनारले जातीय रुपमा हुने अधिकांश घटना मिलापत्रमा मात्र सीमित गर्न खोजेपछि छुवाछूतको घटना झन मौलाएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!