मोबाइल अस्पताल सञ्चालन हुने

Posted on: 04 May, 2019

वैशाख २१, दमौली (रासस) | तनहुँको दमौली अस्पतालले मोबाइल अस्पताल सेवा सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा दमौली अस्पतालले सो सेवा सञ्चालन गर्न लागेको हो । 

सेवा सञ्चालनका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र दमौली अस्पतालबीच सम्झौता भइसकेको छ । मोबाइल अस्पताल सेवा सञ्चालनको लागि मन्त्रालयले दमौली अस्पताललाई रु ५० लाख उपलब्ध गराउने भएको छ

उक्त रकम पहिलो चरणमा सुविधा सम्पन्न एम्बुलेन्स, विभिन्न उपकरण खरीद गर्ने र अन्य प्राविधिक क्षेत्रमा खर्च गरिने दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । गण्डकी प्रदेशले मोबाइल अस्पताल सेवा दमौली अस्पतालसहित स्याङ्जाको वालिङ स्वास्थ्यचौकी र पर्वतको डिमुवा स्वास्थ्यचौकीमा पनि सञ्चालन गर्न लागेको छ । लामो राजमार्ग भएका जिल्लाको केन्द्रमा रहेका अस्पतालमा पहिलो पटक मोबाइल अस्पताल सेवा सञ्चालन गरिन लागिएको हो । 

विशेष गरी राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल घटनास्थलमा नै पुगेर दक्ष चिकित्सकसहितको उपचार सेवा दिन उक्त सेवा सञ्चलान गर्न लागिएको दमौली अस्पताल व्यवस्थापन समितिका सदस्य नरेन्द्र ढकालले जानकारी दिनुभयो । 

तनहुँको मुग्लिनदेखि कास्कीको सिमाना कोत्रेसम्म ७२ किलोमिटर लामो पृथ्वीराजमार्ग रहेको छ । उक्त राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुने र दुर्घटनाका घाइतेलाई अस्पतालसम्म ल्याउन समस्या हुने भएको कारण दुर्घटनाको सूूचना पाउनासाथ सबै प्रविधि र औषधिसमेत पर्याप्त भएको एम्बुलेन्समा जडित मोबाइल अस्पताल सेवा दुर्घटनास्थलमा पुगी त्यही नै घाइतेको उपचार गर्ने र त्यहीबाट नै सम्बन्धित अस्पतालमा पठाइनेसमेत व्यवस्था मिलाइने सदस्य ढकालले बताउनुभयो ।

मोबाइल अस्पतालको लागि एम्बुलेन्स खरीद प्रक्रिया शुरु भइसकेको र अब केही दिनमै उक्त सेवा सञ्चालन गरिने ढकालले जानकारी दिनुभयो । मोबाइल अस्पताल सेवा सवारी दुर्घटनाको लागि मात्र नभएर अन्य प्राकृतिक विपत्ति र माहामारीजन्य रोगको उपचारको रुपमा पनि प्रयोग गर्न सकिने दमौली अस्पतालले जनाएको छ । सो सेवाको लागि एक जना डाक्टरसहित अन्य सहयोगी चौबीसैँ घण्टा तयारी अवस्थामा रहनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!