खानेपानी चोरीको डरले धारामा ताल्चा !

Posted on: 23 Jun, 2019

असार ८,  तनहुँ | पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् ।

खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताउनुभयो । मल्लले भन्नुभयो, “खानेपानी दुरुपयोग हुन नदिनबाट जोगाउन यो उपाय अपनाएका हौँ ।”उहाँका अनुसार दुई धारामा ताल्चा लगाइन्छ, साँझ ६ बजेदेखि ९ बजेसम्म पानी भर्नका लागि ताल्चा खोलिन्छ । 

“अरु समयमा सधै ताल्चा लगाएर नै राख्ने गरिएको छ”,स्थानीयवासी तेजकुमारी वंशीले भन्नुभयो, “खानेपानीको दुःखले गर्दा यस्तो गरिएको हो ।”उहाँका अनुसार खानेपानीको दुःखले गर्दा रित्तो गाग्री समयमै धारामा लगेर राख्नुपर्ने बाध्यता छ । ग्वास्लुङका १०० भन्दा बढी घरधुरी खानेपानी समस्याबाट पीडित छन् । 

खानेपानीको समस्याले गर्दा साँझ पर्न थालेसँगै धारामा स्थानीयवासीको भीड हुने गरेको छ । “साँझ पर्न थालेपछि अरु काम गर्न भ्याइँदैन, गाग्री बोकेर धारातर्फ दौडनुपर्छ”,स्थानीयवासी मीनकुमारी चन्दले भन्नुभयो ।

ह्वीलचियरमै विद्यालय

तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङका मानव चन्द अपाङ्गता हुनुहुन्छ । उहाँ हिँडडुल गर्न सक्नुहुन्न । उहाँलाई हिँडडुल गर्न ह्वीलचियरको सहारा आवश्यक पर्छ । सोही वडास्थित राधा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत चन्द दैनिक ह्वीलचियरमै विद्यालय जानुहुन्छ ।

चन्दलाई विद्यालय लैजान दैनिक एक साथी आवश्यक पर्छ । चन्दले भन्नुभयो, “उकालोओरालो कच्ची बाटो भएकाले एक्लै जान सक्दिनँ, साथीले आएर लैजान्छ ।”चन्दलाई विद्यालयलैजान र घर पु¥याउन सोही विद्यालयमा अध्ययनरत साथीले सहयोग गर्ने गरेका छन् । “सबैले पालैपालो विद्यालय आउन र घर फर्कन सहयोग गर्छन्”,उहाँले भन्नुभयो ।

एक वर्षदेखि ह्वीलचियरमै विद्यालय जान थाल्नुभएका उहाँलाई त्यस अगाडि बोकेर विद्यालय पु¥याउनुपथ्र्यो । अहिले ह्वीलचियर भएपछि केही सहज भएको चन्दले बताउनुभयो“बोकेरभन्दा ह्वीलचियरमा केही सहज छ”,उहाँले भन्नुभयो, “गाउँको बाटोको अवस्थाले गर्दा ह्वीलचियरमै पनि कहिलेकाहीँ समस्या आउँछ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!