तनहुँमा दुर्घटनामा परी एक वर्षमा ६१ जनाको मृत्यु

Posted on: 22 Jul, 2019

साउन ६, दमौली, आर्थिक वर्ष ०७५-७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा  भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो । 

तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सवारी दुर्घटनाको सङ्ख्यामा यसवर्ष केही कमी आए पनि सन्तोषजनक भने छैन । अघिल्लो वर्षभन्दा गतवर्ष दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चारले कमी छ ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिए पनि दुर्घटनाको क्रम नरोकिएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न दुर्घटनामा ११८को स्थिति जटील र ७१ सामान्य  घाइते भएका थिए । 

दुर्घटनामा परेका मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी छ । यस अवधिमा ६६ मोटरसाइकल, ३७ बस, १९ जीप तथा कार, ११ ट्रक। टिपर र नौ  माइक्रोबस दुर्घटना भएको कार्यालयले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकास्थित कोत्रे, गाछेपानी, म्याग्दे गाउँपालिकास्थित अकला, गुणादी, व्यास नगरपालिकास्थित कमलाबारी, घाँसीकुवा, बन्दीपुर गाउँपालिकास्थित नाहाला, विमलनगर, आँबुखैरेनी गाउँपालिकास्थित पावरहाउस, एक्लेफाँट बढी दुर्घटना हुने ठाउँ हुन् । दुर्घटना न्यूनीकरणका लागि कार्यालयले त्यस्ता ठाउँमा सचेतना बोर्ड, कन्भेक्स ऐना राखेको छ भने सवारीको गतिमापनका लागि ‘रडार गन’ प्रयोग गर्ने गरिएको उहाँले बताउनुभयो ।  दुर्घटना न्यूनीकरणका लागि उक्त कार्यालयले सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ ।  सवारी दुर्घटना न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिइएकोे हो ।

तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापरवाहीजस्ता कारणले सवारी दुर्घटना वृद्धि भएको ट्राफिक प्रमुख अधिकारीको भनाइ थियो । “तीव्रगतिमा सवारी  साधान चलाउने, एकअर्काबीच प्रतिस्पर्धा, सडकमा खाल्डाखुल्डीजस्ता कारणले सवारी दुर्घटना बढेको हो,” उहाँले भन्नुभयो, “सडक ठाउँ–ठाउँमा भत्किएको छ, समयमै मर्मत नगरिएकाले मोटरसाइकल र स्कुटर बढी मात्रामा दुर्घटनामा पर्ने गरेको हो ।”पृथ्वीराजमार्गको ७२ किलोमिटर भाग तनहुँ जिल्लामा पर्दछ । 

डेढ करोड राजश्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयले  आर्थिक वर्ष ०७५-७६मा सवारी साधानका चालकलाई गरेको  कारवाहीमा रु एक करोड ६६ लाख ९४ हजार राजश्व सङ्कलन भएको छ । सो अवधिमा नियम उल्लङ्घन गरी चलाइएका २६ हजार ६४६ चालक कारबाहीमा परेका थिए ।  

कार्यालयले आर्थिक वर्ष ०७४-७५ मा सवारी कारवाहीबाट रु एक करोड ६९ लाख २६ हजार ५०० राजश्व सङ्कलन गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!