नागरिकता र राहदानी लिनेको सङ्ख्यामा वृद्धि

Posted on: 11 Sep, 2019

भदौ २५, तनहुँ | वर्षैपिच्छे नागरिकता र राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा १० हजार पाँच नेपाली नागरिकता वितरण गरेको छ । कार्यालयले वंशजका आधारमा १० हजार पाँच र वैवाहिक अङ्गीकृत २० गरी कूल १० हजार २५ नागरिकता वितरण गरेको हो ।

त्यसैगरी, पाँच हजार ६७९ ले प्रतिलिपि लिएका छन् । त्यस्तै चार जनाले नागरिकता परित्याग गरेका छन् भने एकको नागरिकता रद्द गरिएको प्रशासन शाखाका सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर आलेले जानकारी दिनुभयो । त्यस्तै कार्यालयले गत साउन मसान्तसम्म ९०२ नागरिकता वितरण गरेको छ । वंशजका आधारमा ९०२ र दुई वैवाहिक अङ्गीकृत रहेका सो कार्यालयले जनाएको छ । साउनमा मात्रै नाबालक परिचयपत्र ५६ लाई प्रदान गरिएको छ । 

कार्यालयले पछिल्लो समय स्थानीयवासीलाई सहज सेवा प्रदान गर्न गाउँमै घुम्ती शिविर राखेर सेवा प्रवाह गर्दै आएका कारण जिल्ला प्रशासन कार्यालयमा आई नागरिकता बनाउने सङ्ख्यामा कमी आएको छ । जिल्लाका १० वटै स्थानीय तहमा हरेक महीनाको एक पटक नागरिकता घुम्ती शिविर सञ्चालन गर्ने योजनाअनुरुप शिविर गरिँदै आएको कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले बताउनुभयो ।

राहदानी वितरण 

जिल्ला प्रशासन कार्यालयले आव २०७५/७६ मा चार हजार ९०७ लाई राहदानी वितरण गरेको छ । कार्यालयले जिल्लाबाट सिफारिश भएका छ हजार १०५ लाई राहदानी प्रदान गरेको छ भने दुई हजार २१९ ले द्रुतसेवामार्फत सिफारिस भई काठमाडाँैबाट राहदानी लिएका छन् । कार्यालयका अनुसार पछिल्लो समय दैनिक २५/३० जनाको हाराहारीमा सेवाग्राही राहदानीका लागि कार्यालय आउने गरेका प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । 

केही युवापिँढी अध्ययनका लागि र केही वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेका छन् । उहाँले भन्नुभयो, “कार्यालयमा गत वर्षको तुलनामा यस वर्ष राहदानी बनाउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।” उहाँका अनुसार कार्यालयले २०७६/७७ को साउन मसान्तसम्म ५३६ लाई  राहदानी प्रदान गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!